मासिक १० देखि २० हजार भारु कमाइ हुने प्रलोभन, प्रहरीको प्रारम्भिक अनुसन्धान भन्छ : ५०-६० जनालाई भारत लगेर मिर्गौला झिकियो
काठमाडौं । होटलमा काम लगाइदिने बहानामा भारत पुर्याएर मिर्गौला झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मानव अंग व्यापारको यो संगठित र अन्तरदेशीय अपराध घटनामा काभ्रेपलाञ्चोक र नुवाकोटका तीन जना व्यक्ति संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका-१० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका-९ का २४ वर्षीय समीर नेपाली र सोही पालिकाको वडा नम्बर ४ का ४७ वर्षीय राकेश नेपाली रहेका छन् । उनीहरूलाई काठमाडौं र काभ्रेबाट पक्राउ गरिएको ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए । पंगेनीका अनुसार पक्राउ परेकाले २०८२ जेठमा एक पुरुषलाई चण्डीगढको एक होटलमा मासिक १० देखि २० हजार भारु कमाइ हुने लोभ देखाएका थिए । त्यसपछि काठमाडौंको कोटेश्वरस्थित आकाशे पुल नजिकबाट उनलाई लिँदै भैरहवाको सुनौली नाका हुँदै भारतको चण्डीगढ पुर्याएका थिए ।
उनीहरूले पीडितलाई चण्डीगढस्थित अपार्टमेन्टमा राखेर हाल नाम नखुलेको क्लिनिकमा एउटा मेडिकल चेकअप गराए । “त्यहाँ करिब एक महिना राखेपछि ‘तिमीलाई ६ लाख रुपैयाँ दिइन्छ, मिर्गौला निकालिसकेपछि नेपाल फर्किँदा पैसा दिन्छौं’ भनेका थिए,” पीडितलाई उद्धृत गर्दै एसएसपी पंगेनीले भने ।
तर, जब पीडितले मिर्गौला दिन अस्वीकार गरे, त्यसपछिको कथा भयावह बन्यो । “त्यति बेलासम्म लागिसकेको खर्च तिर्नुपर्ने भन्दै डर, त्रास र करकापमा पारेर पीडितलाई २०८२ साउन ९ गते बायाँ मिर्गौला झिकियो,” पंगेनीले भने ।
मिर्गौला निकालिएको केही दिनपछि उनीहरूले पीडित युवकसहित अन्य चार जनालाई नेपाल पठाएका थिए । उनीहरू साउन १५ गते काठमाडौं फर्किएपछि पीडितले ब्युरोमा जाहेरी दिएका थिए । जाहेरीपछि ब्युरोले विशेष अपरेशन चलाएर साउन २१ गते समीर नेपालीलाई नयाँ बसपार्कस्थित मित्रनगरबाट, राकेश नेपालीलाई टोखा नगरपालिका-३ बानियाँटारबाट र साउन २२ गते राजकुमार परियारलाई काभ्रेको पाँचखालबाट पक्राउ गरिएको पंगेनीले बताए ।
ब्युरोको प्रारम्भिक अनुसन्धानमा आरोपीहरू लामो समयदेखि नेपाल र भारत दुवै देशमा बसेर योजनाबद्ध रूपमा मिर्गौलाको अवैध कारोबारमा संलग्न रहेको खुलेको छ । उनीहरूले कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर चण्डीगढ पुर्याउने र मिर्गौला झिक्ने गरेको खुलेको छ । “अहिलेसम्म यी आरोपीले ५०-६० जनालाई भारत लगेर मिर्गौला झिकिसकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,” पंगेनी भन्छन्, “अन्य पीडितलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ।”
ब्युरोका अनुसार यो अपराधलाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ । पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको छ ।