काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। कर्णाली याक्स स्पोट्स प्रालिले अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका ब्याटर नाजिबुल्लाह जाद्रनलाई अनुबन्ध गरेको छ। दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्सले पाँचौँ विदेशी खेलाडी अनुबन्ध गरेको हो।

कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन टेस्ट राष्ट्रका जाद्रनलाई अनुबन्ध गरेको जानकारी गराएका छन्।

कर्णाली याक्सले पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। अस्ट्रेलियाका विलियम बासिस्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट‚ नेदरल्यान्ड्सका म्याक्स ओ डाउड र भारतका प्रियाङ्क किरित पन्चालले पहिलोपटक कर्णालीबाट खेल्दै छन्।

३२ वर्षीय बायाँहाते ब्याटरले अफगानिस्तानबाट १०७ खेल खेल्दा १८ सय ३० रन बनाएका छन्। १३७.८० को औसतमा रन बनाउँदा आठ अर्धशतक बनाए। एकदिवसीयमा भने उनले ९२ खेलमा दुई हजार ६२ रन बनाएका छन्।

यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौँको होटेल याक एन्ड यती, सह-प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ।

१५ मंसिर २०८१ देखि ६ पुस २०८१ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा‚ नन्दन यादव‚ विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत‚ अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनबाट पवन सर्राफ‚ युवराज खत्री‚ इमरान सेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।