काठमाडौँ
००:००:००
२९ माघ २०८२, बिहीबार

१९ माघ २०८२
अ+
अ-

काठमाडौँ। अधिकारकर्मीहरूले चुनावी घोषणापत्रमा चुनावी घोषणापत्रमा संक्रमणकालीन [अ] न्यायलाई उच्च प्राथमिकता दिन राजनीतिक दलहरूलाई आह्वान गरेका छन्।

जवाफदेहिता निगरानी समितिले एक विज्ञप्तिमार्फत ‘न्यायको पुस्तान्तरण’ हुनुपर्नेमा “पीडाको पुस्तान्तरण’ हुँदै गएको उल्लेख गरेको छ। यस्तै समिति दण्डहीनताको अवस्थाप्रति पीडित परिवारका नयाँ पुस्तामा चरम असन्तुष्टि, आक्रोश र विद्रोहको भावना तीव्र गतिमा विकसित हुँदै गएको पनि जनाएको छ।

“गम्भीर मानवअधिकार उल्लङ्घनका पीडकहरू भने जवाफदेहिताबाट उन्मुक्तिमा रमाउँदै आएका छन्। उनीहरूमध्ये कतिपय राजनीतिक रूपमा स्थापित हुँदै उच्च ओहोदामा पुगेका छन्‚” विज्ञप्तिमा उल्लेख छ‚ “कतिपय बढुवा हुँदै विभिन्न सेवामा उच्च पदमा पुगेर सेवा निवृत्त भइसकेका छन्। कतिपय अहिले पनि पदासीन छन्। पीडित समुदाय भने उनैबाट शासित हुन बाध्य छन्।”

समितिले दलहरूलाई सशस्त्र द्वन्द्व एवं जेन-जी आन्दोलनलगायत सन्दर्भमा भएका गम्भीर उल्लङ्घन तथा ज्यादतीविरुद्ध शून्य सहनशीलताको नीति अंगीकार गर्ने र द्वन्द्वपीडितहरूसँगको परामर्शमा संक्रमणकालीन न्याय कानुनमा उल्लेख गर्नुपर्ने सुझाएको छ।

“संक्रमणकालीन [अ] न्याय सम्बोधन गर्ने नाममा विगतमा एकपछि अर्को आयोग गठन गरियो। तर ती आयोगहरू असफल भए। सत्य, न्याय र परिपूरणको मार्ग प्रशस्त गर्न सकेनन्। तिनीहरू बेकामे बन्दा दण्डहीनता मौलाउँदै गयो। मुलुकमा विद्यमान कुशासन, भ्रष्टाचार एवं आर्थिक तथा सामाजिक अधिकारबाट वञ्चितिजस्ता द्वन्द्वका कारक तत्त्वका रूपमा रहेका संरचनागत समस्याहरूको पहिचान गरी सम्बोधन गर्ने कार्यमा पनि राज्य चुक्यो‚” समितिले विज्ञप्तिमा उल्लेख गरेको छ।

समितिले हजारौँ-लाखौँ पीडितमा विद्यमान निराशा, असन्तोष र विद्रोहको भावलाई थाती राखेर वा बिर्सेर देश अघि बढ्न नसक्ने भन्दै दलहरूलाई स्मरण गराएको छ।

समितिले संक्रमणकालीन न्यायको अभिभारा पूरा गर्ने स्पष्ट वाचा चुनावी घोषणापत्रमा समेटिनु र तदनुरूप ती वाचाहरू कार्यान्वयनमा लैजानु पर्ने अपरिहार्यता रहेको बताएको छ। अझै पनि द्वन्द्वपीडितहरू न्यायको खोजीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा भौँतारिन बाध्य रहेको विज्ञप्तिमा उल्लेख छ।

जवाफदेहिता निगरानी समितिमा राजुप्रसाद चापागाई (संयोजक), राजन कुइँकेल (सह-संयोजक), रुकमनी महर्जन (सह-संयोजक), सदस्यहरू- चरण प्रसाई, गौरीशंकरलाल दास,मन्दिरा शर्मा, दिनेश त्रिपाठी, सुमन अधिकारी, देवी सुनुवार, बाबुराम गिरी, वीरेन्द्र थपलिया, जनकबहादुर राउत, इन्द्रप्रसाद अर्याल, विकास बस्नेत, अनीता थपलिया, भक्त विश्वकर्मा, बद्रीप्रसाद भुसाल, नीराजन थपलिया, काशीराम ढुंगाना, लक्ष्मी पोखरेल, पुष्पराज पौडेल, सन्तोषबाबु सिग्देल, कमला पन्थी, रेश्मा थापा, मुकुन्द कट्टेल, देवेन्द्रप्रसाद अधिकारी, अनुपा अर्याल र ओजस्वी केसी छन्।