प्रतिनिधिसभा बैठक
निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न, केन्द्रीय परिचालन कमिटी २२ माघमा बस्ने
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ।
पार्टी संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोर्टिङ गरेका थिए। रिपोर्टिङ सुनेपछि संयोजक दाहालले समग्र राजनीतिक अवस्था र निर्वाचनसम्बन्धी विषयमा धारणा राखे।
बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आगामी २२ माघमा बोलाउने निर्णय गरेको छ। साथै नेता तथा कार्यकर्ता परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्रको सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित निर्णय बैठकले गरेको छ।
बैठकबाट निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी पनि तोकिएको छ। जसअनुसार कोसी प्रदेशमा वेदुराम भुसाल, मधेसमा अग्नि सापकोटा, बागमतीमा राजेन्द्र श्रेष्ठ, गण्डकीमा देव गुरुङ, लुम्बिनीमा पम्फा भुसाल, कर्णालीमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ।
त्यसैगरी बैठकले नेता तथा कार्यकर्ताको परिचालन सम्बन्धमा ठोस निर्णय लिँदै निर्वाचनका लागि अपिल छिटै प्रकाशन गर्ने र घोषणापत्रलाई सम्पादन गरी छिटै प्रकाशन गर्ने निर्णय गरेको छ।
निर्वाचनमा प्रचारलाई प्रभावकारी बनाउन सापकोटाको नेतृत्वमा जगतनाथ खतिवाडा, गोविन्द आचार्य रहेको केन्द्रीय प्रचार समिति गठन गरेको छ। केन्द्रीय प्रचार समितिले अन्य विभिन्न पक्षसँग आवश्यक परामर्शसहित प्रचारलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय बैठकले गरेको छ।