काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्ताहरूलाई आग्रह गरेका छन्।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन जापानको राजधानी टोकियोमा आयोजित विशेष समारोहलाईमा उनले राजनीतिक मुद्दालाई निष्कर्षमा पुर्याएपश्चात नेपालको प्राथमिकता अब द्रुत सामाजिक-आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको बताए।
“नेपाल सरकारले व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न व्यापक कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको छ, हामी उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न धेरैभन्दा धेरै जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँ,” उनले भने।
राष्ट्रपति पौडेलले विकास सहायता, व्यापार, लगानी, पर्यटन र अन्य विभिन्न क्षेत्रमा जापान नेपालको एक प्रमुख साझेदार रहिआएको उल्लेख गरे। यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित देशको तहबाट स्तरोन्नति हुने तथा सन् २०३० सम्ममा मध्यम आय भएको देश बन्नु अर्को महत्त्वपूर्ण उपलब्धि हुने उनले उल्लेख गरे।
जापान नेपाली युवा र विद्यार्थीको रोजाइँमा परेको र यहाँका नेपाली नागरिकको सुरक्षा सुनिश्चितता गरेकामा जापानप्रति उनले आभार व्यक्त गरे। त्यस अवसरमा जापानका विदेश राज्यमन्त्री होरी इवाओले यसप्रकारको भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।