काठमाडौँ। चालु आवको ०८२/८३ को पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत देखिएको छ।
नेपाल राष्ट्र बैंकले आज (सोमबार) सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ऋणात्मक देखिएको छ।
राष्ट्र बैंकका अनुसार गत पुसमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक छ। गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.६७ प्रतिशत र ४.१९ प्रतिशत थियो।
राष्ट्र बैंकका अनुसार आव ०८२/८३ को ६ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.९७ प्रतिशत थियो।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२० प्रतिशत, घिउ तथा तेलको ४.९६ र गैरमदिराजन्य पेयपदार्थको ३.०४ प्रतिशतले बढेको छ। दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२, मरमसलाको ३.९२ र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले घटेको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१.७५ प्रतिशतले बढेको छ। यस्तै शिक्षाको ७.५६, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९, सुर्तीजन्य पदार्थको ४.१५ र मदिराजन्य पेयपदार्थको ३.८५ प्रतिशतले बढेको छ। बिमा तथा वित्तीय सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.०३ प्रतिशतले घटेको छ।
यो पनि…
यस अवधिमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.९९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.५७ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोसी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५, मधेसको ३.३७, बागमतीको २.१०, गण्डकीको १.७६, लुम्बिनीको २.६२, कर्णालीको १.०८ र सुदूरपश्चिम प्रदेशको १.२७ प्रतिशत छ। यस्तै काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४८, तराईको २.६५, पहाडको १.९४ र हिमालको २.६६ प्रतिशत छ।
गत पुस महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.१७ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०१ प्रतिशत थियो। उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.५८ प्रतिशत छ। मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ७.०७ प्रतिशत र २.५८ प्रतिशत छ। यस्तै निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ३.४८ प्रतिशतले बढेको छ।