क्रिकेट
आफ्नो क्षमता र स्तर प्रमाणित गर्नैपर्ने दबाबमा रहेको नेपाललाई थप एक अवसर
२३ जेठमा मलेसियाको क्वालालम्पुरमा भएको एसियाली क्रिकेट परिषद् (एसीसी) महिला प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले इतिहासकै खराब प्रदर्शन गर्दै हङकङविरुद्ध ६९ रनको हार बेहोर्यो।
१०९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ब्याटिङमा पूर्ण रूपमा असफल रह्यो। टोली १३.३ ओभरमै सबै विकेट गुमाउँदै ४० रनमा समेटियो। खेलभर न शीर्षक्रमका ब्याटरले जिम्मेवारीपूर्ण प्रदर्शन गर्न सके, न मध्यक्रमले नै इनिङ्स सम्हाले। सहज लक्ष्य असहज बन्दा ठूलो रनअन्तरले नेपाल निराश बन्न पुग्यो।
हारपछि टोली आफ्नो क्षमता र स्तर प्रमाणित गर्नैपर्ने दबाबमा छ। कप्तान इन्दु बर्मा हङकङविरुद्ध नेपालको प्रदर्शन वास्तविक स्तरको नभएको बताउँछिन्। “ब्याटरहरूको आउट हुने तरिका अपेक्षाअनुसार थिएन र यसले टोलीलाई निराश बनाएको छ। अब यस्तो कमजोरी दोहोरिनेछैन,” उनी भन्छिन्।
तर, समूह चरणको निराशाजनक प्रदर्शनपछि क्वार्टरफाइनल यात्रा सहज देखिन्न। बुधबार नेपालले सेमिफाइनल प्रवेशका लागि बलियो टोली थाइल्यान्डको सामना गर्नेछ। हालैका वर्षमा एसियाली महिला क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएको थाइल्यान्डसँगको भिडन्त नेपालका लागि परीक्षा बन्ने अपेक्षा गरिएको छ।

बायाँबाट क्रमश: रुबिना क्षेत्री, सीता रानामगर र रुबी पोद्दार।
अनपेक्षित परिणाम
एसियन गेम्स छनोटमा चीनसँग पाँच विकेटको अप्रत्याशित हार बेहोर्दै एसीसी महिला टी-२० प्रिमियर कपको यात्रा सुरु गरेको नेपालले त्यसपछि लगातार दुई प्रभावशाली जित निकालेको थियो। यद्यपि, ती दुवै विपक्षी टोली नेपालभन्दा कमजोर प्रतिस्पर्धी थिए।
पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। भुटानविरुद्ध पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५१ रनको जित दर्ता गरेको थियो। दुई जितसँगै नेपाल समूह ‘डी’ को उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश गर्न सफल भयो।

हङकङविरुद्ध विकेट लिएपछि सीता रानामगर (बायाँ) र रिया शर्मा।
लाग्थ्यो, अब नेपाल लयमा फर्कियो। तर, हङकङले नेपाललाई स्तब्ध तुल्याइदियो। सुरुआती दुई खेलमा आत्मविश्वासपूर्ण देखिएको नेपाली ब्याटिङ लाइनअप हङकङका बलरहरूसामु टिक्नै सकेनन्। परिणाम, नेपालले महिला टी-२० आईमा अहिलेसम्मकै कम रन बनायो।
नेपालले यसअघि पनि यस्तो नतिजा नबेहोरेको होइन। बाङ्लादेश र मलेसियाविरुद्ध पनि नेपाल ५० रनमा अलआउट भएको इतिहास छ। तर, हङकङ त्यति बलियो टोली थिएन, स्तर लगभग उस्तै थियो।
हराउन नसकेको प्रतिद्वन्द्वी
एसियन गेम्स छनोट प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको थाइल्यान्डले प्रिमियर कपमा पनि आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ। जापान, म्यानमार, मंगोलिया र बहराइनलाई पराजित गर्दै थाइल्यान्ड समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो।
प्रिमियर कपको पनि दाबेदार रहेको थाइल्यान्डविरुद्धको यसअघिका खेलमा नेपाल सधैँ निरीह छ। यी दुईबीचको पहिलो भेट १९ जनवरी २०१९ मा थाइल्यान्डमै भएको वुमन्स टी-२० स्म्यास प्रतियोगितामा भएको थियो। उक्त खेलमा घरेलु टोलीले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपाल १७.२ ओभरमा अलआउट हुँदै ५१ रनमै समेटियो। त्यसयता यी दुई टोली सात पटक भेट भएका छन्। ती सबैमा नेपालले नमीठो पराजय मात्र चाखेको छ।
थाइल्यान्डविरुद्ध मैदान उत्रिँदा नेपाली टोलीको सबैभन्दा ठूलो चुनौतीमध्ये एक हुनेछिन्, २२ वर्षीया स्पिनर थिपताचा पुथावो। एसियन गेम्स छनोट प्रतियोगितामा चार विकेट मात्र लिएकी पुथावो प्रिमियर कपमा भने चार खेलमै १० विकेट लिँदै प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बन्ने दौडमा छिन्।
नेपालविरुद्ध उनको तथ्यांक झन् गजबको छ। नेपालसँगका आठ टी-२० आई खेलमध्ये ६ खेल खेलेकी पुथावोले १० विकेट हात पारिसकेकी छन्। गत १८ जनवरीमा कीर्तिपुरमा भएको महिला टी-२० विश्वकप एसिया छनोटमा पनि उनले नेपाललाई १२२ रनमा सीमित गर्ने क्रममा चार ओभरमा २७ रन खर्चेर चार विकेट लिएकी थिइन्।
नेपालका लागि त्यो हार निकै महँगो साबित भयो। पराजयसँगै नेपाल सुपर सिक्स पुग्न असफल रह्यो। थाइल्यान्ड भने त्यही जितको बलमा अर्को चरणमा प्रवेश गर्न सफल भयो। निर्णायक क्षणमा नेपाललाई रोक्ने काम पुथावोले पहिलो पटक गरेकी भने होइनन्। गत वर्ष बैंककमा सम्पन्न आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा पनि उनी नै नेपाली सपनामा तगारो बनेकी थिइन्।

इन्दु बर्मा (दायाँ)।
१५९ रनको लक्ष्य पछ्याएको नेपाललाई ८० रनमै आउट गर्ने क्रममा उनले तीन विकेट लिएकी थिइन्। त्यसक्रममा ओपनरद्वय सम्झना खड्का र रुबी पोद्दारसँगै मध्यक्रमकी अनुभवी ब्याटर रुबिना क्षेत्री पनि उनकै बलको सिकार बनेकी थिइन्।
त्यसैले भोलि बिहानको क्वार्टरफाइनलमा नेपालले थाइल्यान्डको अशुभ परिणामको नियतिबाट बाहिर निस्कने हो भने सबैभन्दा पहिले पुथावोलाई निष्प्रभावी बनाउनुपर्ने देखिन्छ। कप्तान इन्दु बर्माले भनेझैँ नेपाली टोलीले आफ्नो वास्तविक स्तरअनुसारको प्रदर्शन गर्न सके र पुथावोको प्रभावलाई सीमित राख्न सके थाइल्यान्डविरुद्धको नतिजा फरक र एतिहासिक बन्न सक्छ।