काठमाडौँ। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डसम्बन्धी छानबिन प्रतिवेदन अध्ययन गरी आवश्यक परे थप अनुसन्धान अघि बढाइने बताएका छन्।
पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले उक्त घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले गम्भीरतापूर्वक अध्ययन गर्ने स्पष्ट पारे। उनले विद्यमान प्रतिवेदनलाई आधार मानेर थप अनुसन्धानको आवश्यकता भए त्यही दिशामा अघि बढ्ने उनको भनाइ छ।

राजदरबार हत्याकाण्ड १९ जेठ २०५८ को राति नारायणहिटी दरबारमा भएको थियो। जसले तत्कालीन राजपरिवारमा ठूलो क्षति पुर्याएको थियो।
उक्त घटनाको छानबिनका लागि तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा समिति गठन गरिएको थियो। यो समितिले सार्वजनिक गरेको प्रतिवेदनमा हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्र शाहद्वारा भएको निष्कर्ष प्रस्तुत गरिएको थियो।

उक्त प्रतिवेदनबारे समय-समयमा विभिन्न प्रश्न उठ्दै आएका छन्। यसै सन्दर्भमा गृहमन्त्री गुरुङको पछिल्लो अभिव्यक्तिले घटनाको थप अनुसन्धान हुने सम्भावनालाई पुनः चर्चामा ल्याएको छ।
शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरे। साथै उनले पदभार ग्रहणपछि सत्य र तथ्यका आधारमा मात्रै आलोचना गर्न आग्रह सञ्चारकर्मीलाई आग्रह गरे। उनले नागरिकको अपमान र चरित्र हत्या गर्ने प्रवृत्तिविरुद्ध मन्त्रालय संवेदनशील भएर प्रस्तुत हुने चेतावनी पनि दिए।

गुरुङले गृह प्रशासन र सुरक्षा निकायलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सातवटा महत्त्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्। उनले जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे अध्ययन तथा सिफारिसका लागि विशेष कार्यदल गठन गर्ने निर्णय गरे।
साथै गृह मन्त्रालय तथा सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट रोक्न र सूक्ष्म निगरानीका लागि ‘सेन्सेटिभ इन्फर्मेसन भिजिलेन्स टिम’ गठन गर्ने निर्णय गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाउने, हाल अनुसन्धानमा रहेका पुराना फाइललाई शीघ्र टुंगोमा पुर्याउने तथा जघन्य, आर्थिक र सांगठनिक अपराधका घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न सीआईबीमा ‘स्पेसलाइज्ड टिम’ (विशेष टोली) गठन गर्ने निर्णयसमेत मन्त्री गुरुङले गरे।
उनले विगतका सबै गम्भीर प्रकृतिका घटनाका फाइललाई निष्कर्षमा पुर्याउने संकेत गर्दै अबदेखि हरेक फाइल खोलिने र कुनै पनि विषयलाई बेवास्ता नगरिने स्पष्ट पारे।


