काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

२६ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। कृषि, वन तथा वातावरणमन्त्री तथा राष्ट्रिय दुग्ध विकास बोर्डकी अध्यक्ष गीता चौधरीले बोर्डलाई दुग्ध क्षेत्रको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकी छन्।

बोर्डको अध्यक्षताको पदभार ग्राहण गर्दै दुग्ध क्षेत्रको समग्र विकास तथा प्रवर्द्धनका लागि सरकारलाई नीतिगत सुझाव प्रदान गर्नु, उत्पादन, उपभोग, गुणस्तर, बजार व्यवस्थापन, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्नु रहेको बताइन्।

निजी तथा सरकारी दुग्ध व्यवसायीबीच समन्वय स्थापना गर्ने, दुग्ध विकाससम्बन्धी अध्ययन गरी आवश्यक डेरी डाटाबेस तयार गर्ने कार्य पनि बोर्डको प्रमुख जिम्मेवारी भएको उल्लेख गरिन्। मन्त्री चौधरीले बोर्ड स्थापना भएदेखि हालसम्म अपेक्षाअनुसार सेवा दिन नसकेको स्वीकार गर्दै लामो समयदेखि संस्थाले आफ्नो औचित्यता प्रमाणित गर्न नसकेको बताइन्।

दुग्ध उत्पादक किसान, सहकारी संस्था तथा निजी क्षेत्रका लागि बोर्ड आवश्यक भए पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा समय-समयमा यसको खारेजीको चर्चा हुने गरेको उनको भनाइ थियो।

मन्त्री चौधरीले वर्तमान अवस्थालाई बोर्डका लागि सुनौलो अवसरका रूपमा व्याख्या गर्दै संस्थाको लक्ष्य र उद्देश्यलाई प्राथमिकतामा राखी पुनःसंरचना गर्न तथा त्यसमार्फत बोर्डको आवश्यकता र औचित्यता प्रमाणित गर्न निर्देशन दिइन्। “बोर्डको पुनःसंरचनासँगै दुग्ध क्षेत्रको विकासमा प्रभावकारी योगदान पुर्‍याउन सकिने विश्वास लिएकी छु,” उनले भनिन्।