काठमाडौँ। राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा कर छली प्रकरणमा नैतिकताका आधारमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी छन्।
संसद् भवन सिंहदरबारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले गाडी आयातमा कर छली प्रकरणको छानबिनका लागि समिति बनेको अवस्थामा छानबिन सम्पन्न नहुँदासम्म आधारमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताइन्।
उनले कर छली प्रकरण र करका दर हेरफेरको विषय अर्थ मन्त्रालयसँग जोडिएकाले पनि निष्पक्ष र विश्वसनीय छानबिनका लागि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरिन्। उक्त प्रकरणमा अर्थमन्त्रीले बनाउने समितिबाट सुनपानी छर्कने मात्र काम हुने देखिएको उनको भनाइ छ।
त्यस्तै उनले सीमाका विषयमा सदन अवरुद्ध भइरहेको अवस्थामा नेपालले सीमा मिचेको पुष्टि प्रधानमन्त्रीले गर्नुपर्ने वा प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गर्दै सच्चाउनुपर्ने बताइन्।