यू-१९ राष्ट्रिय महिला क्रिकेट
सुर्खेत। वीरेन्द्रनगरमा जारी १९ वर्षमुनिको महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका पछिल्ला तीन खेलमा लगातार जित हात पार्दै आएको सुदूरपश्चिमलाई चौथो खेलमा ब्रेक लागेको छ। मधेसको अविजित यात्रा जारी छ। कर्णालीले भने हालसम्म खेलेका तीनवटै खेलमा निरन्तर हार व्यहोरेको छ।
मंगलबार भएका खेलमा गण्डकीसँग ४ विकेटले पराजित भएपछि सुदूरपश्चिमको विजय यात्रामा ब्रेक लागेको हो। मधेस भने बागमतीलाई २९ रनले हराउँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
कालुञ्चोक मैदानमा टस जितेर सुदूरलाई ब्याटिङका लागि निम्ता दिएको गण्डकीले १९.५ ओभरमा ८७ रनमा सुदूरलाई अलआउट गर्न सफल भयो। सुधारिएको बलिङ गरेको गण्डकीका लागि प्लयेर अफ दी म्याच रचना चौधरीले ४ ओभरमा २ ओभर मेडन राख्दै ६ रन दिएर ५ विकेट हात पारिन्। यस्तै आयुष्मा चापागाईंको नाममा ४ विकेट रह्यो। गण्डकीका लागि रचनाले २७ रनको योगदान दिँदा ज्योत्सिनाका मरासिनी र सेरिना थापाले समान १७-१७ रन जोडे।
अघिल्ला खेलमा आक्रामक खेलेको सुदूरका ब्याटर चौथो खेलमा भने फितलो साबित भए। सुदूरका लागि स्नेहा महरा र करुणा विष्टले समान १०-१० रन जोड्नबाहेक अरू सबै एकल अंकमै सीमित भए।
वीरेन्द्रनगर मैदानमा भएको मंगलबारको बिहानको खेलमा टस जितेर पहिला बलिङ रोजेको बागमतीविरुद्ध मधेसले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १४० रनको स्कोर खडा गर्यो। मधेसकी ओपनर सना परविनले आफ्नो ब्याटिङ लयलाई कायम राख्दै ६० बलमा ११ चौकासहित ६८ रन बनाउँदा भूमि सिंह र एलिशा यादवले २१-२१ रन जोडे।
बलिङतर्फ बागमतीका काबिया रावल, सम्भाव्या ढकाल र कृष्मा गुरुङको नाममा समान एक-एक विकेट रह्यो। जवाफी ब्याटिङमा उत्रिएको बागमतीका लागि सेविकाकुमारी यादवले १८ तथा लक्ष्मीमाया रुम्बा लिम्बूले १४ रन बनाए। बागमतीलाई सस्तैमा रोक्ने क्रममा प्लयेर अफ दी म्याच प्रतिमा साहले ३ विकेट झारिन्।
मंगलबारको अर्को खेलमा घरेलु टोली कर्णालीले कोसीसँग २४ रनको पराजय बेहोर्यो। कर्णालीको यो लगातार तेस्रो हार हो। कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कोसीले ८ विकेटको क्षतिमा १२५ रन बनायो। कोसीका प्रिन्सा रानामगरले ३०, टीका शाहले २७, प्रिया मल्लाहले १२ तथा पूर्णिमा राजवंशीले ११ रन बनाए।
१६ रन अतिरिक्त पाएको कर्णालीका लागि समीक्षा बीसीले २०, शिखा दुवाडीले १५, सोविका शाहीले १४, सोना चन्दले १२, आयिश्मा गिरीले १० रन बनाए पनि अरूको प्रदर्शन साबिक झैँ कमजोर रह्यो।
कोसीका कृष्टिना धामीले ४, टीका शाहले ३ र बन्धना राजवंशीले २ विकेट लिए। प्रतियोगिताको चौथो दिनका खेलहरू सकिँदासम्म ३ खेलमा तीनवटै जित हात पारेको मधेस शीर्ष स्थानमा उक्लिँदा सुदूरपश्चिम दोस्रोमा झरेको छ।