काठमाडौँ। नेकपा एमालेले पार्टीको सङ्गठन सुदृढीकरण र भावी कार्यदिशा बनाउन देशव्यापी रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको छ।
ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा आज (मंगलबार) उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित निर्वाचन समीक्षा तथा पुनःगठन कार्यदलले देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।
उनले बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने भएको बताए। उनका अनुसार राजधानीसहित आठ प्रदेश कमिटी, जनसङ्गठन, सम्पर्क समन्वय र विभाग प्रमुख तथा निकायका पदाधिकारीसँग सङ्गठन सुदृढीकरण र पार्टीको भावी कार्यदिशा बनाउन सुझाव सङ्कलन गर्न थालिएको हो।
प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहनेछ। कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इन्चार्जले गर्ने निर्णय गरिएको छ।
बैठकले कार्यदलको सदस्य-सचिवको जिम्मेवारी शङ्कर पोखरेललाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए। बैठकमा पार्टी अध्यक्ष केपी ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याललगायत सहभागी थिए।