काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

५ असार २०८३
अ+
अ-

पर्वत। पर्वतका ग्रामीण बस्तीहरूमा विद्युत् पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा रहेका सामुदायिक विद्युतीकरण सेवा पछिल्लो समय आर्थिक अभावले विस्तामा समस्या भएको छ।

सञ्चालन खर्च वृद्धि, प्राविधिक जनशक्तिको अभाव, विद्युत् चुहावट तथा उपभोक्ताको असन्तुष्टिका कारण सामुदायिक विद्युतीकरण संस्थाको अवस्था जटिल बनेको हो।

जिल्लाको विहादी गाउँपालिका-१ बाच्छा सामुदायिक विद्युत् उपभोक्ता समितिलाई विद्युत् सेवा विस्तार गरी निरन्तरता दिन समस्या हुँदै आएको छ।

समितिका सचिव डम्मर कार्कीका अनुसार समितिले रु सात लाख रकम नोक्सानी बेहोर्नुपरेको छ। मिटर रिडिङ र लाइन मर्मत गर्ने दुई जना कर्मचारीलाई तलब दिन नसकिएको बताए।

विहादी-१ बाच्छाका अध्यक्ष चित्रबहादुर गुरुङले समितिलाई विद्युत् प्राधिकरणमा हस्तान्तरण गर्ने प्रयास गरिए पनि सम्भाव नभएको बताए।

नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका अनुसार जिल्लामा सामुदायिक थोक उपभोक्ता समितिको सङ्ख्या २४ वटा छ भने सामुदायिक ग्राहक सङ्ख्या १३ हजार ४९० छन्। उपभोक्ता समिति मातहतका विद्युत ग्राहकले मासिक कूल रु तीन लाख ६६ हजार सात सय ३८ युनिट विद्युत् खपत गर्दै आएका छन्।

केन्द्रले सामुदायिक विद्युत् संस्थाबाट असुल गर्नुपर्ने बक्यौता रकम हालसम्म करिब रु पाँच लाख रहेको जनाएको छ। जिल्लामा रहेका अधिकांश सामुदायिक विद्युत् उपभोक्ता संस्थाहरू सङ्कटमा परेपछि विद्युत् प्राधिकरण केन्द्रलाई आफ्नो स्वामित्व हस्तान्तरण गर्न चाहेका छन्।

सुरुवाती चरणमा संस्था सञ्चालनमा लिइएको ऋण र प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकमका कारण चाहेर पनि अधिकांश विद्युत् उपभोक्ता समितिहरुले स्वामित्व हस्तान्तरण गर्न सकेका छैनन्।

सामुदायिक विद्युत् सेवाबाट अपेक्षाअनुसार गुणस्तरीय सेवा नपाएको भनी उपभोक्ताले गुनासो गरेका छन्। विद्युत् आपूर्ति नियमित नहुने, बारम्बार लाइन अवरुद्ध हुने तथा सेवाको गुणस्तर कमजोर रहे पनि महँगो शुल्क तिर्नु परेकामा उपभोक्ता असन्तुष्ट छन्।

सामुदायिक विद्युत् उपभोक्ता समितिले सेवा प्रभावकारी बनाउनभन्दा मासिक शुल्क तथा अन्य सेवा शुल्क महँगो लिनमा तल्लीन रहेको बाच्छा गाउँका शिवकुमार क्षेत्रीको गुनासो छ। उपभोक्ताका अनुसार विद्युत् अवरुद्ध हुँदा लामो समयसम्म मर्मत नहुने, भोल्टेज घटबढ भइरहने तथा प्राविधिक समस्या समाधानमा ढिलाइ हुने गरेको छ।

पैयुँक्षेत्र सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद काफ्लेका अनुसार संस्थाले स्थापनाको सुरुआती अवस्थामा लिएको ऋणलगायत बाँकी अन्य बक्यौता रकम गरी रु ६० लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने छ। सो उपभोक्ता समितिमार्फत विद्युत् उपभोग गर्ने घरधुरी सङ्ख्या तीन हजार २०० रहेका उनले जानकारी दिए।