अहिले नेपाली राम्रो बोल्ने मानिस एउटा वृत्तमा बाहिरियाजस्तो भइसकेको छ।
सर्वोच्च अदालतले निजी तथा बोर्डिङ स्कुलहरूले विद्यालयभित्र नेपाली भाषा बोलेकामा विद्यार्थीलाई दण्ड वा अपमान गर्न नपाउने आदेश दिएको छ। केवल अंग्रेजी बोल्न बाध्य पार्नु गैरकानुनी ठहर गरिएको हो।
फेसबुक स्क्रोल गर्दै थिएँ। अचानक यो पोस्ट देखेँ। विगतका दिन आँखैअगाडि आए।
क्लास मोनिटरले ‘नेपाली टकिङ नेम्स’ भनेर ह्वाइटबोर्डमा नाम लेखेको याद आयो। हरेकपल्ट नेपाली बोल्दा पाँच रुपैयाँ जरिवाना तिरेको याद आयो। मानौँ, नेपाली बोल्नु कुनै जघन्य अपराध थियो।
हाम्रो समाजमा नेपाली खासै नजान्नु र अंग्रेजी बोल्नु औकातको प्रदर्शन गरेजस्तै हुन्छ। तर, आफ्नो मातृभाषा बिर्सेर अंग्रेजी फरर जान्ने हुनु कस्तो औकात हो?
हुन त विश्वव्यापीकरणको युगमा धेरै भाषा जान्नु ‘प्लसपोइन्ट’ नै हो। पोलिग्लट (धेरै भाषा बोल्न सक्ने) हुनु साँच्चै सानकै कुरा हो। तर, आफ्नै सम्पत्ति मासेर अरूको सम्पत्ति आर्जन गर्नु कति बुद्धिमत्तापूर्ण हो?
मेरी आमा एउटा पनि अंग्रेजी शब्द नघुसाई खरर नेपाली बोल्न सक्नुहुन्छ। उहाँले प्रयोग गर्ने शब्द सुन्दा आहा, नेपाली कति सुन्दर भाषा रहेछ जस्तो लाग्छ। तर, आमा आफ्नो प्रखर नेपालीमा गर्व गर्नुसाटो सीमित अंग्रेजीका कारण कमजोर महसुस गर्नुहुन्छ।
यो विडम्बना हो। हामी नेपालमा जन्मेर हुर्किएका हौँ, नेपालमै काम गर्छौं, तैपनि हामीलाई आफ्नै भाषाप्रति लज्जा छ। यसको प्रवर्द्धन त परै जाओस्, प्रयोग गर्दा सजाय दिइन्छ।
अहिले सहरतिर बालबालिका नेपालीमा राम्ररी कुराकानी गर्न पनि सक्दैनन्। तैपनि, आमाबुवा गर्वका साथ भन्छन्, “मेरो बच्चा नेपालीमा बोल्दैन।”
उनीहरू अंग्रेजी टाइप गर्न बालखमै सिक्छन्। तर, नेपाली टाइप महाभारतको लडाइँजत्तिकै संघर्षपूर्ण लाग्छ। युवाहरू जिब्रो घुमाउँदै बीचबीचमा १० पटक ‘लाइक’ प्रयोग गरेर अंग्रेजीमा कुरा गर्छन्। शुद्ध र स्पष्ट नेपाली वाक्य उनीहरूबाट आशा गर्न लगभग असम्भव छ।
यस्तो अवस्था आउनुका थुप्रै कारण छन्।
हाम्रो समाजमा अंग्रेजी बोल्नु सफलता, उच्च शिक्षा र सामाजिक प्रतिष्ठासँग जोडिएको छ। अंग्रेजी जान्नाले भविष्यको अवसर बढ्ने र ‘सफल व्यक्तित्व’ बन्ने विश्वास छ। विद्यालय, कलेज, पेसागत वातावरणदेखि सरकारी कार्यालयसम्ममा अंग्रेजीको प्रभुत्व छ। यसले नेपाली बोल्नु ‘कम मूल्यको’ भन्ने धारणाले हाम्रो मनमा जरो गाड्छ। यही सामाजिक दबाबका कारण अभिभावकहरू बच्चालाई सानैदेखि अंग्रेजी बोल्न बाध्य पार्छन्।
आलोचनात्मक दृष्टिले हेर्दा यो औपनिवेशिक मानसिकताको अवशेष हो।
मलाई याद छ, मेरा आमाबुवाले पनि मलाई राम्रो अंग्रेजी बोल्न सिकाउन चाहनुहुन्थ्यो। उहाँहरूले मलाई हिन्दी टेलिसिरियलसमेत हेर्न निषेध गर्नुभयो। तर, नियमित रूपमा नेपाली बालपत्रिका र अखबार पढ्न पनि लगाउनुहुन्थ्यो।
मैले अंग्रेजी साहित्यमा स्नातक गरेकी छु। तर, नेपाली भाषा बोल्न, लेख्न र पढ्न छोडेकी छैन। मलाई बारम्बार मानिसहरू सोध्छन्, ‘तिम्रो नेपाली यस्तो (राम्रो) कसरी भयो?’
अचम्म! नेपाली भएर नेपाली राम्रो हुनु कुन ठूलो कुरा भयो?
तर, अहिले नेपाली राम्रो बोल्ने मानिस एउटा वृत्तमा ‘एक्जोटिक प्रजाति’ (बाहिरिया)जस्तो भइसकेको छ।
मिडियाले पनि यसमा ठूलो भूमिका खेल्छ। सञ्चारमाध्यम, चलचित्र, टेलिभिजन, युट्युब, टिकटक र सामाजिक सञ्जालले अंग्रेजीलाई ‘कुल’ र ‘स्मार्ट’ देखाउँछन्। नेपालीलाई कहिलेकाहीँ कम आकर्षक भाषाजस्तो प्रस्तुत गर्छन्। विज्ञापन र सेलिब्रेटी संस्कृतिले त अंग्रेजी शब्द प्रयोगलाई सामान्यीकरण गर्दै ‘ग्ल्यामरस’ बनाएका छन्। परिणामतः धेरै युवा आफ्नै भाषाप्रति लघुताभास राख्छन्।
तर, यसको समाधान पनि छ। नेपाली भाषालाई माया गर्ने र प्रयोगमा ल्याउने प्रयास आजैबाट गर्न सकिन्छ। साहित्य, कविता, कथा, ब्लग र सामाजिक सञ्जालमार्फत नेपालीलाई सजीव, आधुनिक र अभिव्यक्तिपूर्ण भाषाका रूपमा देखाउन सकिन्छ। दैनिक जीवनमा परिवार र साथीभाइसँग नेपालीमा संवाद गर्ने अभ्यास गर्न, सिर्जनात्मक लेखनमा वा सामाजिक सञ्जालमा नेपालीमै पोस्ट गर्न सकिन्छ।
हामीले बिर्सन नहुने कुरा के हो भने, भाषा केवल संवादको माध्यम होइन, पहिचानको प्रतीक पनि हो। र, नेपालीलाई माया गर्नु भनेको अंग्रेजी अस्वीकार गर्नु होइन, बरु आफ्नो पहिचान प्रगाढ बनाउनु हो। हामीले नेपाली बोल्दा, हाम्रो इतिहास, संस्कृति, कथा र सोचसँग साक्षात्कार गरिरहेका हुन्छौँ।
तर, विदेशी शब्द र शैलीको आकर्षणमा भुलिरहँदा हाम्रो आत्मीय आवाज हराउँदै छ। विद्यालयले बच्चालाई अंग्रेजी बोल्न बाध्य पार्दा उनीहरूको आत्मसम्मान र सांस्कृतिक जरामा पनि प्रहार भइरहेको छ।
डिजिटल प्रविधिको युगमा नेपाली भाषा प्रोत्साहन गर्ने अवसर अझ बढी छ। नेपाली भाषामै छोटकरी भिडिओ, मिम, कविता, ब्लग र कथाहरू सिर्जना गर्न सकिन्छ। यसले नेपाली भाषा र युवालाई नजिक्याउँछ, आधुनिक र ‘कुल’ देखाउँछ। जब नेपालीमा कुराकानी र सिर्जना हुन थाल्छ, तब मात्र हाम्रो भाषा जीवित, सजीव र मिठासपूर्ण हुनेछ।
हाम्रा विद्यालय र अभिभावकहरूले पनि आफ्नो सोच बदल्नुपर्छ। अंग्रेजी सिकाइलाई नेपालीको विरोध होइन, पूरकका रूपमा लिँदा राम्रो हुन्छ। बच्चाले नेपालीमा स्पष्ट, सुन्दर र आत्मविश्वासी ढंगले बोल्न पाए मात्र उसमा भाषा-संस्कृतिको बुझाइ र आत्मविश्वास दुवै विकास हुन्छ। भाषाको अधिकार प्रत्याभूत गर्नु भनेको बच्चाको अधिकार, पहिचान र आत्मसम्मानको सुरक्षा गर्नु हो। यदि हामीले आजैदेखि नेपालीलाई सम्मान गर्दै प्रयोगमा ल्यायौँ भने आगामी पुस्ताले गर्वसाथ आफ्नो मातृभाषामा कुरा गर्नेछ।