काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत जेन-जी समूहलाई वार्तामा बोलाएका छन्। प्रधानसेनापति सिग्देलले मंगलबार राति भिडियो सन्देश जारी गर्दै वार्तामा आउन आह्वान गरेका हुन्।

दुई मिनेट लामो भिडियो सन्देशमा उनले भनेका छन्, “यस विषम परिस्थितिमा शान्तिपूर्ण रूपमा निकास दिन आन्दोलनका कार्यक्रम स्थगत गरी वार्तामा आउन आह्वान गर्दछु।”

नेपालमा हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति नेपाली सेना समवेदना र सहानुभूति व्यक्त गर्ने भन्दै उनले जनधनको थप क्षति हुन नदिन, शान्ति, सुरक्षा, अमनचयन एवम् राष्ट्रिय एकता र सद्भाव कायम गर्नु सबैको साझा दायित्व भएको बताए।

“वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रिय एवम् ऐतिहासिक सम्पदा, सार्वजनिक एवम् नागरिकको सम्पत्ति, आम नागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरी हितको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो,” उनले भनेका छन्।

जेन-जी समूहले सोमबारदेखि काठमाडौंसहित देशैभर सुरू गरेको आन्दोलनका क्रममा २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। सयौं घाइते छन्। काठमाडौंमा मुख्य नेताका घर, राष्ट्रपति निवास, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, विशेष अदालत, अख्तियारलगायत सरकारी भवन जलिसकेका छन्। यसैगरी, निजी क्षेत्रका भौतिक सम्पत्तिमा पनि आगजनी भइसकेको छ।

यसअघि जंगी अड्डाले विज्ञप्ति जारी गरी संयमता अपनाउन आन्दोलनकारीलाई अपिल गरेको थियो।