काठमाडौं । देशभर शान्ति, सुरक्षाको कमाण्ड नेपाली सेनाले लिएको छ। मंगलबार राति १० बजेबाट देशभर सेना शान्ति सुरक्षा कायम गर्नको लागि परिचालित भएको हो।
सैनिक जनसम्पर्क सूचना निर्देशनालयले सूचना जारी गरी भदौ २४ गते राति १० बजेबाट सेना परिचालन हुने जानकारी गराएको थियो।
नेपाली सेनाको कमाण्डमा शसस्त्र प्रहरी र नेपाल प्रहरी पनि परिचालित भएका छन्। नेपाली सेनाले विषम परिस्थितिमा सहयोगको लागि देशबासीलाई आग्रह गरेको छ।
अहिलेको विषम परिस्थितिको फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा अत्यधित क्षति पुर्याउने, लुटपाट एवम् आगजनी गरिरहेको भन्दै सेनाले त्यसलाई तुरुन्त रोक्न भनेको छ।
“यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकाय आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न २०८२ भाद्र २४ गतेको राति १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँछौं,” सेनाले भनेको छ।