काठमाडौँ
००:००:००
६ फाल्गुन २०८२, बुधबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जेनजीको जारी आन्दोलनलाई साथ दिने निर्णय गरेको छ। महासचिव विप्लव स्वयं आन्दोलनमा सहभागी हुने नेकपाले जनाएको छ।

पार्टीका पोलिटब्युरो सदस्य असल सीका अनुसार भदौ २३ देखि २७ गतेसम्म बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गरी पार्टी जेनजी आन्दोलनमा सहभागी हुने निर्णय गरिएको हो।

वर्तमान संसदीय व्यवस्थाको अन्त्यका लागि जेनजीलाई समर्थन गर्ने नेकपाले भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको छ। पार्टीले सत्ताको प्रक्रियाभन्दा बाहिरबाट शक्तिशाली नागरिक आयोग गठन गरी भ्रष्टाचारी नेता र कर्मचारीलाई सर्वस्वसहित जन्मकैद गर्नुपर्ने, सबै राजनीतिक नियुक्ति खारेज गर्नुपर्ने लगायतका निर्णय गरेको जनाएको छ।

महासचिव विप्लवले आफ्ना नेता–कार्यकर्तालाई पनि आन्दोलनमा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिएका छन्। नेकपाले सुशासन र अग्रगमनका लागि निरन्तर आन्दोलन गर्दै आएको दाबी गरेको छ।