काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

२४ भाद्र २०८२
अ+
अ-

मुस्ताङ। नेपाल–चीन सीमास्थित कोरला नाकामा चिनियाँ सामान ढुवानीका लागि दर्जनौँ कन्टेनर पुगेका छन्। भन्सार विभागले कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसँगै यहाँको नाकाबाट मालसामान ढुवानीमा सहजता आएको छ।

गत असारमा आएको बाढीले रसुवागढी र तातोपानी नाकामा अवरोध सिर्जना भएपछि भन्सार विभागले कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याएको हो। भन्सार कार्यालय प्रमुख रमेश खड्काका अनुसार, यहाँको नाकाबाट मालवस्तु आयातमा अब कुनै समस्या नहुने व्यवस्था मिलाइएको छ।

कोरला नाकामा भन्सारको ‘अनलाइन इन्ट्री’ प्रणाली लागू भइसकेको छ भने चाँडै लोमान्थाङमा भन्सार राजस्व संकलनका लागि वित्तीय सेवा उपलब्ध गराउने तयारी भइरहेको छ। सोमबार चिनियाँ भन्सारबाट दुई कन्टेनरको मालसामान जाँच पास भइसकेको छ भने अन्य कन्टेनर पनि चिनियाँ भन्सारमा छ।

कोरला नाकाबाट ५०० भन्दा बढी डीवाइटी इभी गाडी, लत्ताकपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक सामान लगायतका दर्जनौँ मालवाहक कन्टेनर बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै ढुवानी भएका छन्।

स्थानीय तहका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले करिब १०० भन्दा बढी कन्टेनर अहिले पर्खाइमा रहेको जानकारी दिए। यसरी कोरला नाकाबाट मालसामानको सहज ढुवानीले व्यापारिक गतिविधिमा थप गतिशीलता आउने अपेक्षा गरिएको छ।