सडकमा जे देखियो
जेन–जीले सुरु गरेको प्रदर्शनले जनआन्दोलनकै स्वरूप लिने देखिन्छ। काठमाडौं, भक्तपुर र ललितपुरका चोक चोकमा टायर बालिएका छन्। जेन–जीको प्रदर्शनलाई उनीहरूका अभिभावकले साथ दिएका छन्।
दिउँसो १२ बजेदेखि साढे १२ बजेसम्ममा भक्तपुरको लोकन्थलीदेखि काठमाडौंको माइतीघरसम्म अवलोकन गर्दा हरेक चोकमा ठूलो संख्यामा प्रदर्शनकारीको उपस्थिति छ। टायर बालिएको छ। सरकारविरूद्ध नाराबाजी गरिएको छ। सडकछेउका पुराना मोटरसाइकल, काठ दाउरा हालेर दनदनी आगो बालिएको छ।
तीनवटै जिल्लामा कर्फ्यू आदेश जारी गरिएको छ। तर, कर्फ्यू आदेशकै बीचमा हजारौं प्रदर्शनकारी सडकमा निस्किएका छन्। आकाशमा हेलिकोप्टर लगातार घुमिरहेका छन्।
चोक–चोकमा जम्मा भएका प्रदशर्नकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उत्तेजित नाराबाजी गरिरहेका छन्।

कोटेश्वर चोकमा रहेको प्रहरी चौकी परिसरमा राखिएका थोत्रा मोटरसाइकलमा पेट्रोल खन्याएर आगो लगाइएको छ। त्यहाँ प्रहरीको खासै उपस्थिति देखिँदैन। प्रर्दनकारीले कोटेश्वर चोक ढपक्कै ढाकेका छन्।
ललितपुरको च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भइरहेको छ। एमाले कार्यालयको भवनमा प्रदर्शनकारी छिरेर टेबल कुर्सी बाहिर फालेका छन्। केहीले भवनमा आगो झोसिरहेका छन्। बाहिर फालिएका टेबल कुर्सीमा दनदनी आगो बलिरहेको छ। यहाँ केही पनि कुरा प्रहरीको नियन्त्रणमा छैन्।
एमाले पार्टी कार्यालय परिसरमा हजारौ प्रदर्शनकारी जम्मा भएका छन्।

यता बानेश्वर चोकमा पनि टायर बालेर प्रदर्शन गरिरहेका छन्। संसद भवन परिसरमा नेपाली सेनाको उपस्थिति देखिन्छ। बिजुलीबजारस्थित पुलमा केही संख्यामा प्रहरी तैनाथ गरिएको छ। सोही पुलमा एक जना महिलाले प्रदर्शनकारीका लागि निःशुल्क पानीको बोतल वितरण गरिरहेकी छन्।
माइतीघर मण्डलमा जम्मा भएका प्रदर्शनकारीहरू सरकारविरूद्ध नाराबाजी गर्दै बानेश्वरतर्फ अघि बढेका छन्।
देशको प्रमुख प्रशासनिक सचिवालय सिंहदरवारमा वरपर भने सुनशान देखिन्छ। हुनमानस्थानमा प्रहरीले ब्यारिकेड लगाएको छ।

लोकन्थलीदेखि माइतीघरसम्म र सिंहदरवार वरपर सरसर्ती घुमेर हेर्दा सडकमा जनआन्दोलनकै झल्को देखिन्छ। स्थिति सुरक्षा निकायको नियन्त्रणबाहिर पुगेको देखिन्छ।
सरकारको अकर्मन्यता, भ्रष्टाचार र कुशासनको विरूद्ध युवा पुस्ता सडकमा निस्किएका छन्। राजनीतक दलका प्रमुख नेताको निवास र पार्टी कार्यालयहरूमा उनीहरूले आगजनीको प्रयास गरिरहेका छन्।
आइतबार भएको प्रदर्शनलाई सरकारले दमन गर्दा काठमाडौंमा मात्रै १७ जना र इटहरीमा दुई जना गरी १९ जना युवाको निधन भएको छ। करिब चार सयजति प्रदर्शनकारी घाइते भएका छन्।