काठमाडौँ। पाँचवटा बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार भएका व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका ४, नुवाकोटकी ४५ वर्षीया विन्दा ढुंगेल रिजाल छिन्। बूढानीलकण्ठ नगरपालिका १०, काठमाडौंमा बस्दै आएकी उनलाई ललितपुर महालक्ष्मी नगरपालिका १ बाट सोमबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार ढुंगेलमाथि ललितपुर र काठमाडौंमा बैंकिङ कसुरका पाँचवटा मुद्दा छन्।
उनलाई ती मुद्दामा ३० दिन कैद र तीन करोड ५९ लाख ९६ हजार ५६ रुपैयाँ जरिवानाको फैसला भएको थियो। ढुंगेलविरुद्ध २० लाख रुपैयाँ ठगीको अर्को उजुरी छ। वैदेशिक रोजगार ठगीको उक्त मुद्दामा ढुंगेलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
ढुंगेललाई प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ।