काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११औं ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’मा सहभागी हुन आज (मंगलबार) त्यसतर्फ गएका छन्।
कोरियाको विज्ञान र आईसीटी (एमएसआईटी) मन्त्रालय तथा नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआईए) सँगको संयुक्त आयोजनामा यही २६ कात्तिकमा आयोजना हुने आईसीटी लिडरसिप फोरममा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान गरेका हुन्। खरेलका साथमा उनका स्वकीय सचिव उद्धव भट्टराई पनि गएका छन्। सञ्चारमन्त्री खरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव राधिका अर्यालसहितको टोलीले बिदाइ गरेको छ ।
फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटिजिस एन्ड च्यालेन्ज र ग्लोबल को-अपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर विषयमा दुई सत्र सञ्चालन हुनेछन्।
डिजिटल र एआई ट्रान्सफर्मेसन : एसडीजीहरु र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषयअन्तर्गत फोरममा एचिभिङ द एसडीजी एन्ड ए फ्युचर’ विषयक फोरममा नेपाल, भुटान, श्रीलंका, पाकिस्तान, कम्बोडिया, लाओ पीडीआर, भियतनाम, काजकिस्तान, मंगोलिया र उब्जेकिस्तानका मन्त्री र वरिष्ठ नीति निर्माता सहभागी हुनेछन् । एसिया प्रशान्तका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तर्राष्ट्रिय संस्था पनि सहभागी हुने जनाइएको छ । मन्त्री खरेल २९ कात्तिकमा स्वदेश फर्कनेछन् ।