जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कडा सुरक्षाबीच पदभार ग्रहण गरेका छन्।
यादवले पदभार ग्रहण गर्ने थाहा पाएपछि उनको नियुक्ति अवैधानिक भन्दै बिहानैदेखि आन्दोलनमा रहेका सरकारबाहिरका दलहरुले मधेस भवनअगाडि विरोध प्रदर्शन गरिरहे। सुरक्षाकर्मीहरुले विरोध प्रदर्शनका बीच यादवलाई पदभार ग्रहणका लागि लगेका थिए। प्रदर्शनकारी र प्रहरीबीच केहीबेर धक्कामुक्का पनि भयो। केही प्रदर्शनकारीमाथि प्रहरीले लाठीसमेत चलाएको छ।
प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध जनाएका छन्। प्रदर्शनमा प्रदेश सभा सदस्यहरुसमेत सहभागी भए। धर्नामा र विरोधमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरसमेत केही समय सहभागी बने।

जनता समाजवादी पार्टीका प्रमुख समेतक रामअशिष यादवले संवैधानिक उपचार र सडक आन्दोलन दुवै आवश्यक भएको बताएका छन्।
पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) अहिले पनि मुख्यमन्त्री निवासमा बस्दै आएका छन्। प्रदर्शनका कारण नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव पदभार ग्रहणपछि मुख्यमन्त्रीको सरकारी निवासमा प्रवेश गर्न पाएका छैनन्।
यता यादव नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनमा शाहदत प्राप्त गरेकाहरुलाई मधेस रत्न दिने निर्णय गरेको छ।
