काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुन १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिए।

उनले संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल र कम्युनिस्ट पृष्ठभूमिका १६ राजनीतिक दललाई उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाइएको बताए। उनका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायत दललाई निम्तो दिइएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर निमन्त्रणा दिइएको अतिथि सत्कार समितिका सदस्य सुनीता बरालले जानकारी दिइन्। उनका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल उपत्यकाबाहिर रहेकाले भेट्ने निमन्त्रणा दिन बाँकी छ।

एमालेको महाधिवेशनको उद्घाटन २७ मंसिरमा भक्तपुरस्थित सल्लाघारीमा हुँदै छ।