काठमाडौँ
००:००:००
४ फाल्गुन २०८२, सोमबार

१७ पुष २०८२
अ+
अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मामा ज्येष्ठ नागरिकका लागि भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मुद्दा दायर भएकामा कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, लेखा अधिकृत कृष्णप्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य र मल्ल कन्स्ट्रक्सन सप्लायर्स प्रालिका सञ्चालक लालबहादुर मल्ल छन्। मल्ल कन्स्ट्रक्सन कम्पनीलाई समेत मुद्दामा प्रतिवादी बनाएर अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो।

अख्तियार प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूसँग एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो तथा सजाय माग गरिएको छ। आव ०७९/८० मा सरकारको विशेष अनुदानमा ज्येष्ठ नागरिक भवन निर्माणका लागि एक करोड ६६ लाख रुपैयाँ विनियोजन भएको थियो।

कुश्मा नगरपालिकाले मल्ल कन्स्ट्रक्सनसँग २४ असार २०७९ मा सम्झौता गरेको थियो। तर, निर्माण सम्पन्न नभएकै अवस्थामा ठेकेदार कम्पनी फरार भयो। अख्तियारका अनुसार निर्माणमा बदनियतपूर्वक १७ लाख दुई हजार ३४१ रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरेको देखिएको छ। निर्माण पूरा नगरेपछि सम्झौता अन्त्य गरेर जमानत जफत गर्नुपर्नेमा सम्झौताबमोजिमको बाँकी ९६ लाख ४१ हजार रुपैयाँसमेत हानि गरेको पाइएको छ।