काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

१७ पुष २०८२
अ+
अ-

झापा। बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका सङ्क्रमित फेला परेका छन्।

मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार फेला परेका सङ्क्रमित मध्ये ९४ प्रतिशत उपचारपछि रोगमुक्त भएका छन्।

नगरलाई आर्थिक वर्ष २०८३/८४ भित्र क्षयरोगमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाले घरघरमा पुगेर बिरामीको पहिचान र उपचार गर्दै आएको शाखा प्रमुख सविता सापकोटाले बताए।

उहाँका अनुसार चालू आव २०८२/८३ को पाँच महिनामा ४६ जना क्षयरोगका नयाँ सङ्क्रमित भेटिएका छन्। आव २०८१/८२ मा २१० जना, २०८०/८१ मा २०५ जना र २०७९/८० मा २०० जना क्षयरोगका संक्रमित फेला परेका थिए।

नगर प्रमुख गोपाल बुढाथोकीले नगरपालिकालाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य बमोजिम सञ्चानल गर्दै आएको अभियान प्रभावकारी भइरहेको बताए।

शाखाकी प्रमुख सापकोटाले अन्य घातक रोग लागेका सङ्क्रमितको उपचारकै क्रममा मृत्यु हुने गरेको बाहेक क्षयरोगबाट हुने मृत्युदर अत्यन्त न्यून रहेको बताए।

जोखिमयुक्त क्षेत्र पहिचान गरेर संक्रमितको खोजी कार्य गर्ने र अति विपन्न विरामीलाई पोषिलो खानेकुरा समेत वितरण गर्ने कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिए।

उहाँका अनुसार क्षयरोग लागेका प्रत्येक विरामीलाई वर्षेनी एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल दिने गरिएको छ।

लगत संकलन गरिएका क्षयरोगका विरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गराउने र उपचारमा फ्लोअप गरिरहेको पनि उनको भनाइ छ।

क्षयरोगी पहिचानका लागि नगरपालिकाले एआई प्रविधिको सहायताबाट छातीको एक्सरे परीक्षण गर्दै आएको छ। यसका लागि मेचीनगरको वडा नं. २, ४, ७, १०, १२ र १५ मा छातीको एक्सरे परीक्षण गर्ने शिविर सञ्चालन गरिएको छ।