काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

टिप्पणी

अब जनतामा विकासको अपेक्षा बढेको छ। देश बनेन, नेताले बनाएनन्, केवल बिगारे भन्ने भाष्य परिवर्तन गर्ने समय आएको छ।

१८ पुष २०८२
काठमाडौँको वसन्तपुरमा नेपालको झन्डासहित उभिएका लेखक। तस्बिर : लेखकको फेसबुक
अ+
अ-

‘ग्रिनकार्ड होस् वा अमेरिकाको नागरिकता, हामी केवल आप्रवासी हौँ,’ एक जना दाइले खिन्न हुँदै भन्नुभयो। आधा उमेर अमेरिकामै सिध्याएका दाइको कुराले मलाई भावुक बनायो। तथापि, हामी जहाँ रहे पनि देशको माया उस्तै छ, अझ बढेको छ।

विदेश पुगेका नेपाली स्वेदश फर्किन मन नहुने कमै हुन्छन्। बुढेसकालमै भए पनि नेपालै फर्किने योजना नभएका नेपाली कमै होलान्। तर, मन लाग्दैमा फर्किन सम्भव हुँदैन। यो बाध्यता अमेरिका, युरोपलगायत सुविधासम्पन्न देशमा बसिरहेका लाखौँ नेपालीको हो। तथापि, मन विदेशमै बसिरहन मानेको छैन।

नेपालीलाई विदेशको सुविधाले देश फर्किहाल्ने आँट हुँदैन। सामाजिक सुरक्षाको दृष्टिले देशमै बस्न सकिन्छ भन्ने वातावरण नभएर बिदेसिएकाहरू देश आउन तयार हुँदैनन्। ती दाइले अर्को दिन फोनमा भने, ‘देश बनेको भए फर्किनुहुन्थ्यो। हेपाइ सहेर कति बस्नु अर्काको देश?’

कोलोराडोको माइनस २० डिग्री तापक्रमको हिउँमा गएको डिसेम्बरमा कोलम्बियन साथीले भन्यो, ‘हाम्रो देशको सरकारले भ्रष्टाचार नगरेको भए हामी कोही पनि अमेरिका आउनुपर्दैनथ्यो।’

उसको यस भनाइमा आफ्नो कथा मात्रै होइन, आफ्नो देशको भ्रष्टाचार र कुशासनबाट आजित भएर अमेरिका बस्न बाध्य सबै आप्रवासीको व्यथा लुकेको थियो।

म फिस्स हाँसेँ। कतिपय तथ्य स्विकार्न गाह्रो पर्छ। देशको भ्रष्टाचार स्विकार्न धेरै गाह्रो भएर नै म अमेरिका पलायन भएको हुँ।

गएको १० सेप्टेम्बरमा सेन्ट्रल अफ्रिका कंगोकी साथी बेरेन्डाले भनिन्, ‘तेरो देशमा भएको जेन-जी आन्दोलनमा सरकारले गोली चलाउँदा कलिला युवा मारिएछन् त।’

मैले टाउको हल्लाएर भनेँ, ‘हो।’ आफ्नै देशमा भएको सरकारी अत्याचार कसरी होइन भनूँ ?

‘अनि प्रधानमन्त्री त हेलिकोप्टर चढेर भाग्यो रे, हो?’ उनले प्रतिप्रश्न गरिन्।

मैले टाउको हल्लाएरै जवाफ दिएँ। उनी थप बोलिनन्।

अमेरिकामै पनि नेपालमा भएका सबै घटना विवरण समाचारले बोलिरहेको थियो। मैले व्याख्या गरिरहन आवश्यक थिएन।

२३ र २४ भदौमा भएको आन्दोलनमा ७६ जनाको ज्यान गयो। सयौँ घाइते भए।

२३ भदौमा तत्कालीन सरकार र भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण विरोधमा उत्रिएका जेन-जी प्रदर्शनकारीलाई गोली हानियो। पहिलो दिन नै १९ जनाको मृत्यु भयो। प्रहरीको गोली लागेर सडकमै ढलेका युवाहरूको भिडिओ देखेर हामी सात समुद्रपारि रहेकाहरू पनि विक्षिप्त बनेका थियौँ। विदेशमा बस्नेहरूका लागि त्यो रात सबैभन्दा कठिन बन्यो।

जेन-जी युवाहरू मारिँदाको मूल्य देशलाई चर्को पर्‍यो। अघिल्लो दिन माथिको आदेश पाएर गोली चलाएको प्रहरी भोलिपल्ट थला पर्‍यो। नेपाली सेनामा सन्नाटा छायो।

फलस्वरूप २४ भदौमा संसद् भवन जल्यो। सिंहदरबार जल्यो। सर्वोच्च अदालत पनि जल्यो। एक हिसाबले पूरै देश जल्यो। नेपालको इतिहासमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका एकसाथ जलेको यो पहिलो घटना बन्यो।

पर्दापछाडि जेन-जी आन्दोलनका सुप्रिम कमान्डर बालेन थिए। जेन-जी आन्दोलनकारी केवल उनका फेसबुक स्टेटस मान्थे। बाँकी कसैलाई मानिरहेका थिएनन्। ‘लिडरलेस’ आन्दोलनको नेतृत्व सुधन गुरुङको हातमा पुग्यो। उनैले बालेनका स्टेटसलाई जेन-जी मागका रूपमा जंगी अड्डा, शीतलनिवास र बालुवाटार पुर्‍याए।

आन्दोलनकारी जेन-जी युवा बालेनलाई प्रधानमन्त्री बनाउन चाहन्थे। बालेनले मानेनन्। दोस्रो विकल्प, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनिन्, त्यो पनि डिस्कर्ड भोटिङबाट।

जेन-जी आन्दोलनको ठीक ११० दिनपछि १३ पुसमा आगामी चुनावपछि रास्वपाका तर्फबाट बालेनलाई प्रधानमन्त्री बनाउने सहमति गरिएको छ। उच्च अदालतको आदेशपछि सहकारी ठगी मुद्दामा धरौटी बुझाएर रिहा भएका रवि लामिछाने र बालेनबीच एकता भयो। रवि-बालेनबीचको एकता म काठमाडौँमै बसेर देखिरहेको छु। यसले मजस्ता विदेशमा रहेका नेपाली केही आशावादी भएका छन्।

अनौठो कुरा, स्वतन्त्र मेयर बालेन ७२ घण्टाको राजनीतिक छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे, चुनावपछि पाँच वर्ष प्रधानमन्त्री बन्ने सहमतिमा। रवि रास्वपा सभापतिमै सीमित रहे।

अदालतमा मुद्दा विचाराधीन रहेकाले रविको पद सुरक्षित छैन। त्यही भएर बालेन निसर्त पाँच वर्ष प्रधानमन्त्री बन्ने सहमति गरिएको हुनुपर्छ। यो सहमतिमा रविको त्याग महत्त्वपूर्ण छ। उनले बालेनसँगको सहमतिपछि भनेका छन्, ‘सहमति नेताले चाहेजस्तो होइन, देशले खोजेजस्तो हुनुपर्छ।’

यस समाचारले देशभित्र मात्र होइन, विदेशमा पनि तहल्का पिटिरहेको छ। अन्तर्राष्ट्रिय मिडियामा पनि रवि-बालेन सहकार्यले स्थान पाएको छ। यसले सबैभन्दा बढी खुसी विदेशमा बस्ने नेपालीलाई दिएको छ।

जेन-जी आन्दोलनमा कांग्रेस सभापति शेरबहादुर देउवा र उनीकी पत्नी आरजु देउवा राणा कुटिए। प्रधानमन्त्रीको कुर्सी छाडेर केपी शर्मा ओली हेलिकोप्टर चढेर बालुवाटारबाट भाग्न बाध्य भए। तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड सेनाको शरणमा पुगे। प्रचण्डको पार्टी त जेन-जी आन्दोलनपछि सकिएको छ।

यतिखेर एमाले देशको सबैभन्दा अलोकप्रिय पार्टी बनेको छ। कांग्रेस देउवा र गगनको किचलोमा परेको छ।

जेन-जी कमान्डर सुधन गुरुङको अलिअलि दबाब र सहजीकरणमा बालेन र रवि मिलेका छन्। उनीहरूको एकतामा कुलमान घिसिङ थपिएका छन्। अधिकांश दलले समानुपातिकको बन्दसूची बुझाएका छन्। त्यसैले सन् २०२५ को बिदाइसँगै देशमा चुनावी माहोल तयार भएको छ। विदेशमा रहेका नेपालीहरूले खोजेको खुसी स्वेदशको परिवर्तनसँग गाँसिएको छ। जेन-जी आन्दोलनपछि जसरी पनि नयाँ वैकल्पिक शक्ति मिल्न अत्यावश्यक थियो। ती मिले। यसले देशवासी र विदेशवासी नेपालीलाई आशावादी र खुसी बनाएको छ।

पछिल्लो तीन वर्षयता नयाँ शक्ति भनेकै रवि, बालेन र कुलमान थिए। जेन-जी आन्दोलनले उनीहरूलाई एकताबद्ध हुन स्पष्ट म्यान्डेट दियो। यसले पुराना राजनीतिक शक्तिलाई गम्भीर धक्का दियो। जेन-जी आन्दोलनले नयाँ र युवा शक्तिलाई एक ठाउँमा ल्याइदिएको छ। राजनीतिको समग्र परिदृश्य नै बदलिएको छ। जेन-जी अगुवा सुधन गुरुङको नि:स्वार्थ दबाब र सहजीकरणले जेन-जी आन्दोलनपछिको परिस्थितिलाई निकास दिन सहयोग पुगेको छ। त्यसैले होला, सुधनलाई प्रधानमन्त्री सुशीला कार्कीले ‘जेठो छोरा’ कै संज्ञा दिएकी छन्।

पुराना शक्तिलाई गम्भीर धक्का लागेपछि विदेशमा बस्ने नेपालीले भविष्यमा चुनावमा भोट हाल्न पाउने सम्भावना बढेको छ। आफूहरूले पठाएको रेमिटेन्सबाट चलिरहेको देशको अर्थतन्त्रमा आफ्नो योगदानको सम्मान गर्ने नयाँ सरकार पाउने आशा र सम्भावना बढाएको छ। यसअघि देश मिलिजुली पदीय भागबन्डाले चलाइएको थियो। अब जनताले खोजेको परिवर्तन र सेवाप्रवाह सुनिश्चित गर्ने राजनीतिक शैलीको विकास हुने अपेक्षा बढेको छ। देश बन्दै बनेन, नेताले बनाएनन्, केवल बिगारे भन्ने भाष्य परिवर्तन गर्न समय आएको छ।

अब देश बन्नेछ। बन्दै छ। जसरी बालेन मेयर बनेपछि काठमाडौँ पहिलेभन्दा सफा, व्यवस्थित र सांस्कृतिक सहरका रूपमा सुसज्जित भयो। अब त्यसैगरी देश पनि बन्नुपर्छ। विदेशमा पसिना बगाएर देशको अर्थतन्त्रमा योगदान गरिरहेका युवाहरूले नेपाल पनि आफ्नै उमेर समूहले चलाएको देख्दा उनीहरूमा आत्मविश्वास जागृत हुने आशा गर्न सकिन्छ। अब सबै युवा एक ठाउँमा आऊन्। पुरानाहरूलाई चुनावबाट पराजित गरेर पन्छाउन सकून्।