चितवन। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षाकोषमा जोड्नुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ चितवन शाखाको आज (शनिबार) निरीक्षणपछि उनले अहिले सरकारले सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरेको बताए। उनले भने‚ “देशभर कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्न जरुरी रहेको छ।”
उनले पत्रकारका कार्यालयहरूमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै चितवन शाखा अन्य शाखाको तुलनामा उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे। पत्रकारहरूको समस्या समाधानका लागि अहिलेको सरकारले केही आधारशिला तयार गर्ने उनको भनाइ थियो।
उनले भने‚ “लोककल्याणकारी विज्ञापनको सही तरीकाले सबै सञ्चारमाध्यममा पुर्याउन जरुरी छ।” निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीका विषयमा मन्त्री खरेललाई अवगत गराएका थिए।
मन्त्री खरेलले समाचार संकलनका क्रममा जाँदा दुर्घटनामा परेका नेपाल टेलिभिजनका चितवन समाचारदाता अनिल ढकाललाई पनि भेट गरेको उनको सचिवालयले जनाएको छ।