काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

कृषि

उत्पादनको ३० प्रतिशत मात्रै निर्यात, स्याउखेतीमा ८० प्रतिशत स्थानीय

२० पुष २०८२
‘ग्रेडिङ’ गरिएका स्याउ प्याक गर्दै कृषक। तस्बिर स्रोत : जिल्ला कृषि विकास कार्यालय जुम्लाको वेबसाइट।
अ+
अ-

जुम्ला, चन्दननाथ नगरपालिका–९ उमगाडका रतन रावत यतिबेला धमाधम स्याउका बिरुवा बेचिरहेका छन्। २०५९ सालदेखि स्याउको नर्सरी सुरु गरेका उनले यस वर्ष २० हजार बिरुवा उमारेका छन्। आफैँ पनि स्याउ फलाउने रावत बर्सेनि कम्तीमा पाँच लाख रुपैयाँको त स्याउ नै बेच्छन्।

हिमा गाउँपालिका-२ का गोपाल रोकायाले यो वर्ष स्याउका विभिन्न जातका ४० बिरुवा रोपेका छन्। उनको बारीमा पहिल्यै एक हजार ६०० भन्दा बढी स्याउका बोट छन्। “दुई वर्ष मात्र भयो स्याउ फल्न थालेको, दुवै वर्ष दुई दुई लाख रुपैयाँ कमाइ भयो,” उत्साहित रोकाया भन्छन्, “यो त सुरुआत हो, आउने वर्षहरूमा कमाइ बढ्दै जानेछ।”

जुम्लामा अहिले स्याउ रोप्ने याम हो। स्याउ कृषकले आफ्ना बगैँचा विस्तार गर्ने र पुराना बिरुवा उखेलेर नयाँ रोप्ने सिजन हो। कर्णाली प्रदेशका १० जिल्लामध्ये जुम्ला स्याउखेतीको ‘हब’ मानिन्छ। यो वर्ष मात्र जुम्लाबाट ४१ करोड रुपैयाँभन्दा बढीको स्याउ निकासी भएको छ।

जुम्लामा फलेका स्याउ। तस्बिर सौजन्य : डीबी बुढा

केही वर्षअघिसम्म स्याउखेतीबाट पर्याप्त आम्दानी नभएपछि किसानहरू यसबाट विकर्षित हुन थालेका थिए। तर, अहिले संघीय राजधानी काठमाडौँ मात्र होइन, दाङ, बुटवललगायत बजारसम्मै यहाँको स्याउ पुग्न थालेपछि कृषकमा आशा पलाएको छ। र, त्यो पनि भण्डारण व्यवस्थाका कारण सिजनमा मात्रै होइन, लगभग वर्षैभरि नै।

कश्मीरबाट आयात

जुम्ली किसानको आम्दानीको मूल स्रोत बन्ने क्रममा रहेको स्याउको बिरुवा करिब ५८ वर्षअघि २०२४ सालमा भारतको कश्मीरबाट ल्याइएको हो। त्यतिबेला स्याउको बिरुवा घर घरमा निःशुल्क वितरण गरिएको थियो।

“कश्मीर र जुम्लाको हावापानी मिल्दोजुल्दो भएकाले त्यहीँबाट बिरुवा ल्याइएको हो, त्योभन्दा पहिले जुम्लाबाट कश्मीर जाने मानिसले त्यहाँ फलेको स्याउ हामीलाई चखाउँथे,” कर्णाली प्रदेश सभामा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद देवेन्द्र शाही भन्छन्।

स्याउको बगैँचा गोडमेल गर्ने तालिम लिइरहेका जुम्लाका किसान। तस्बिर सौजन्य : डीबी बुढा

स्याउका बिरुवा भित्रिएपछि जुम्लामा जग्गा चक्लाबन्दीको काम भएको थियो। सँगसँगै २०२६ सालमा बागवानी अनुसन्धान केन्द्र स्थापना भयो, जसले स्याउलाई किसानसम्म पुर्‍याउन र विस्तार गर्न सहजीकरण गर्‍यो।

एक समय थियो, जुम्लामा फलेको स्याउको बजारीकरण हुन सकेको थिएन। उत्पादित स्याउ खेर जान्थ्यो। “स्याउ माटोमा गाडेर राख्थ्यौँ, गाईबस्तुले स्याउका दाना खान्थे,” शाही थप्छन्। कृषकले पनि अहिलेको जस्तो व्यवस्थित र वैज्ञानिक विधिबाट स्याउ लगाउँदैनथे। राम्रोसँग गोडमेल, मलजल पनि गर्दैनथे।

स्याउको ‘हब’

जुम्लाका ७८ प्रतिशतभन्दा बढी घरधुरी व्यावसायिक रूपमै स्याउखेतीमा संलग्न छन्। जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार यहाँका २४ हजार ४३८ कुल घरधुरीमध्ये १९ हजार १५० घरधुरीले स्याउखेती गरिरहेका छन्। स्याउको बिक्री, वितरण तथा व्यापारमा ६०३ जना कृषक आबद्ध छन्।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामी जिल्लाभर चार हजार ४९७ हेक्टर जमिनमा स्याउखेती भइरहेको बताउँछन्। “गत आर्थिक वर्षमा १९ हजार ८४० मेट्रिक टन उत्पादन भएकामा यो वर्ष बेमौसमी वर्षा र असिनाका कारण १७ हजार ६५९ मेट्रिक टनमा सीमित भयो,” धामी भन्छन्।

आफ्नै बारीमा फलेको स्याउ प्याकिङ गरिरहेका जुम्लाका कृषक। तस्बिर सौजन्य : डीबी बुढा

कार्यालयको तथ्यांकअनुसार यो वर्ष कुल उत्पादनको ३० प्रतिशत ६ हजार मेट्रिक टन स्याउ जिल्लाबाहिर निर्यात गरिएको थियो। कुल उत्पादन १८ हजार मेट्रिक टन भएको थियो। निर्यात भएको स्याउबाट ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँ भित्रिएको सूचना अधिकारी धामी बताउँछन्।

जुम्ली स्याउ बगैँचामै प्रतिकेजी ६५ रुपैयाँभन्दा बढीमा किनबेच भएको छ। केही ठाउँमा बगैँचामै ७० रुपैयाँसम्म स्याउको मूल्य मिलेको थियो। इटालियन जातको फुजी स्याउ भने बगैँचामै १७५ रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री भएको पाइएको छ।

कुल उत्पादनमध्ये जिल्लाभित्रै चार हजार ४१५ मेट्रिक टन स्याउ खपत भएको छ। यो कुल उत्पादनको २५ प्रतिशत हो। जुम्ला बसपार्क र विमानस्थलबाट चिनो र कोसेलीका रूपमा १५ प्रतिशत स्याउ जिल्ला बाहिर गएको कार्यालयको अभिलेखमा छ।

जिल्लामा स्थानीय जातका रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत विभिन्न खाले स्याउको खेती भइरहेको छ। उच्च घनत्वको स्याउमा गाला र फुजी प्रजाति छन्।

स्याउको चाना, जुस, जाम, साइडर, ब्रान्डी र माडालगायत परिकारमा कुल उत्पादनमध्ये दुई हजार ६४८ मेट्रिक टन खपत भएको छ। एक हजार ७६५ मेट्रिक टन स्याउ भण्डारण गृहमा मौज्दात छ भने टिप्ने र ढुवानी गर्ने क्रममा १० प्रतिशत स्याउ नष्ट भएको आँकडा छ।

जुम्लाको तिला गाउँपालिका–३ स्थित कर्णाली राजमार्गको छेउमा रहेको स्याउ बगैँचा। तस्बिर : दीकपजंग शाही

तथ्यांकले जुम्लामा गत वर्षको तुलनामा स्याउखेती बढेको देखाउँछ। गत वर्ष चार हजार ३७७ हेक्टर क्षेत्रफल स्याउखेतीले ओगटेकामा यो वर्ष बढेर चार हजार ४९७ हेक्टर पुगेको छ। गत वर्ष रोपिएको क्षेत्रमध्ये दुई हजार ३९ हेक्टरमा र यो वर्ष दुई हजार १६५ हेक्टरमा स्याउ फल्यो।

मौसमले साथ दिए आगामी वर्ष स्याउको उत्पादन र बजार बढ्ने अनुमान छ। जस्तो, स्याउ टिप्ने यामको तीन महिनापछि अहिले पनि राजधानीका पसलमा जुम्ली स्याउ उपलब्ध छ। सिजनमा राजधानीमा २५० रुपैयाँ किलोमा उपलब्ध जुम्ली स्याउको मूल्य यतिबेला ३५० रुपैयाँदेखि ४५० रुपैयाँसम्म पुगेको छ। यसबाट आगामी वर्ष निर्यात बढाउन सके किसानले राम्रै लाभ उठाउन सक्छन्।