काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

राजनीति

‘कांग्रेस र कम्युनिस्ट पार्टीको अन्तरपार्टी सिन्डिकेट तोड्न सहयोगी हुन्छ’

२७ पुष २०८२
एमाले उपमहासचिव योगेश भट्टराई, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल र पृष्ठभूमिमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र
अ+
अ-

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनलाई अन्य दलहरूभित्र रूपान्तरणको पक्षमा रहेका नेताहरूले समेत चासोका साथ हेरिरहेका छन्। जसमा विघटित प्रतिनिधिसभाका प्रमुख दुई दल नेकपा (एमाले) र तत्कालीन नेकपा माओवादी केन्द्र (वाम घटकहरूबीचको एकतापछि हाल नेपाली कम्युनिस्ट पार्टी) समेत छन्।

जेन-जी आन्दोलनपछि कांग्रेससहितका पुराना दलहरूमा रूपान्तरण र नेतृत्व हस्तान्तरणको बहस चर्किएको थियो। पार्टीभित्रको दबाबकै बीच एमालेको ११औँ महाधिवेशन भएर आन्दोलनका कारण प्रधानमन्त्रीबाट विस्थापित केपी शर्मा ओली तेस्रोपटक अध्यक्षमा निर्वाचित भइसकेका छन्। महाधिवेशनमा चर्को प्रतिस्पर्धा भएर निर्वाचनबाटै नेतृत्व छनोट भए पनि एमालेले जेन-जी जागरणले ल्याएको नयाँ नेतृत्वको विषयलाई पूरै अनदेखा गरेको टिप्पणी पनि भयो।

कांग्रेसमा भने नयाँ नेतृत्व चयनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विधानअनुसार ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग्दा संस्थापन पक्षले अलमल्याउन र गलाउन खोज्यो। त्यसविरुद्ध डटेर अघि बढेका उनीहरूले अन्तत: २७ पुसदेखि विशेष महाधिवेशन सम्भव गराए।

अन्य दलमा रूपान्तरण र नेतृत्व पुनर्गठनको माग उठाउने नेताहरूले यसलाई विशेष चासोका साथ हेरेका छन्। एमालेमा रूपान्तरण र नेतृत्व पुस्तान्तरणको माग उठाउने उपमहासचिव योगेश भट्टराई विशेष महाधिवेशनमार्फत कांग्रेसका युवाहरूले गर्न खोजेको पुनर्गठन सकारात्मक भएको बताउँछन्। “पुनर्गठन र रूपान्तरणको अजेन्डामा कांग्रेसको नयाँ पुस्ताले जे गरिरहेको छ, त्यो सकारात्मक छ,” उनी भन्छन्, “उहाँहरूले पार्टीलाई एकताबद्ध बनाउन सावधानीपूर्वक कदम चाल्नुहुन्छ भन्ने आशा छ।”

कांग्रेसका महामन्त्रीद्वयले नयाँ परिस्थितिमा नयाँ नीति र नेतृत्वसाथ पार्टी अगाडि बढ्नुपर्ने भन्दै विशेष महाधिवेशनको माग गरेका थिए। यसलाई निस्तेज पार्न नियमित महाधिवेशनका लागि संस्थापन पक्ष तयार भएपछि केन्द्रीय कार्यसमितिले पुसको अन्तिम साता महाधिवेशनको तालिका सार्वजनिक गरेको थियो। तर, पछि तयारी नपुगेको भन्दै संस्थापन पक्षले पुसको महाधिवेशन स्थगित गरेपछि महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गर्ने घोषणा गरेका हुन्। थापा र शर्माको घोषणापछि त्यसले राष्ट्रिय राजनीतिलाई तरंगित बनाएको छ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेताहरू। तस्बिर : नेपाल फोटो लाइब्रेरी

एमाले नेता भट्टराई पार्टी पुनर्गठनको अजेन्डा कांग्रेसभित्रको मात्रै नभई सबै दलको साझा विषय भएको बताउँछन्। “पुनर्गठनको अजेन्डा साझा अजेन्डा हो, त्यसैले विशेष महाधिवेशनमा हाम्रो ऐक्यबद्धता पनि छ,” भट्टराई भन्छन्।

कांग्रेस र एमालेजस्ता ठूला दलभित्र हुने अभ्यासको प्रभाव अन्य दलमा पनि पर्ने भएकाले कांग्रेसको विशेष महाधिवेशनले ल्याउने परिणाम अर्थपूर्ण हुने उनी बताउँछन्। “एमालेमा हामीले पार्टी रूपान्तरण र नेतृत्व हस्तान्तरणको मुद्दा उठाएका थियौँ, महाधिवेशनमा त्यो कुरा लगियो र प्रतिनिधिहरूको ध्यानाकर्षण गरियो। विचारको हिसाबले हाम्रा मुद्दामा पार्टीभित्र पर्याप्त ध्यानाकर्षण भयो, तर परिणाम निस्कन सकेन,” उनी भन्छन्।

जेन-जी आन्दोलनपछि एमालेजस्तै तत्कालीन माओवादी केन्द्रभित्र पनि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषय उठेको थियो। माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक राखेर मंसिरको अन्तिम साता महाधिवेशन गर्ने घोषणा गर्‍यो र आयोजक कमिटी बनायो। महाधिवेशन संयोजक बनेका दाहालले सक्रिय राजनीतिमा रहे पनि महाधिवेशनपछि पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरे। तर, यसबीचमा नेकपा एकीकृत समाजवादीसहितका विभिन्न दलसँग एकता गरेर उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन गरे। एकतापछि मंसिरमा हुने भनिएको महाधिवेशन पछाडि धकेलियो।

नेकपाका नेता लेखनाथ न्यौपाने कांग्रेसभित्र देखिएको पछिल्लो अभ्यासले विभाजनको परिणाम नल्याओस् भन्ने कामना गर्छन्। “कांग्रेसभित्रको अभ्यास अन्यथा नभए पनि राष्ट्रिय राजनीतिक परिस्थिति अप्ठेरो रहेकाले विभाजनसम्म नगइदिए हुन्थ्यो,” उनी भन्छन्, “पार्टी विभाजनको तहमा पुगे संविधान र हाम्रो व्यवस्था रक्षा गर्नमै चुनौती थपिन सक्छ। यसबाट राजनीति रिफर्म हुने आशा पनि छ।”

दलहरू पुनर्गठन हुनुपर्ने विषय उठाउँदै आएका नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल कांग्रेसको विशेष महाधिवेशन कांग्रेस र कम्युनिस्ट पार्टीको अन्तरपार्टी सिन्डिकेट तोड्न सहयोगी हुने बताउँछन्। नेपालको राजनीति कम्युनिस्ट र कांग्रेसका नेताहरूको अन्तरपार्टी सिन्डिकेटको कब्जामा रहेको र त्यो सिन्डिकेटको एक मात्र ध्येय सत्ता र राज्य दोहन भएको उनको भनाइ छ। उनी भन्छन्, “आफ्नै पार्टीभित्र कसैलाई देखिनसहने नेताहरू अर्को पार्टीका नेतासँग कसरी मिलिजुली बस्छन् र बाँडीचुँडी खान्छन् भन्ने कुरा हामीले भोग्दै आएका छौँ।”