काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको अबको अठोट सद्भाव, सुशासन र समुन्नतिको बाटो भएको बताएका छन्।
कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज (आइतबार) भृकुटीमण्डपमा आयोजित दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रमा उनले महाधिवेशन प्रतिनिधि अनुशासित भएकाले देशको र पार्टीको हितमा विवेकमा निर्णय गर्ने बताए।
उनले महाधिवेशनले आवेगमा होइन विवेकमा निर्णय गर्ने बताए। विशेष महाधिवशेनबाट पार्टी नफुट्ने विश्वास दिलाउँदै उनले भने, “पार्टी विभाजित गर्ने होइन अझ सशक्त बनाउने हो। हामी सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने दृढता व्यक्त गर्दछौँ।”
यो पनि…
कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराए
महामन्त्री शर्माले नेतृत्वको लोकप्रियता स्थापित गर्दा ‘ग्रेसफुल एक्जिट’ पनि अनिवार्य हुने बताए। उनले हामीले आफूले गरेको कर्मको श्रेय पनि लिनुपर्ने र कमजोरी पनि सच्याउनुपर्नेमा जोड दिए।
उनले जेन-जी आन्दोलनपछि बदलिएको अवस्थामा मनलाई जोड्न बदलिएर अघि बढ्न सङ्कल्प गर्नुपर्ने बताए। अबको परिस्थितिमा कांग्रेस नवीन सन्देशका साथ अघि बढ्न र कांग्रेसले नै जेनजी आन्दोलनका क्रममा नवयुवाबाट मागिएको सुशासनलाई सम्बोधन गर्ने ल्याकत राख्ने उनको भनाइ थियो।
जेन-जी आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गर्न नहुने धारणा व्यक्त गर्दै महामन्त्री शर्माले उक्त आन्दोलन गत २३ भदौमा गुमेका जीवनबारे र २४ भदौको घटनालाई पनि गम्भीर रूपमा लिएर छानबिन गर्नुपर्नेमा जोड दिए।
उनले पार्टीमा रूपान्तरणको विषय उठे पनि नेतृत्वले बेवास्ता गरेका कारण पनि आज कार्यकर्ता जागरुक भएको बताए। सरकारमा बस्नेहरुले जनतालाई विश्वास जगाउन असफल भएको उल्लेख गर्दै उनले सेवाग्राहीले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन नसक्दा जेन-जी आन्दोलन भएको धारणा व्यक्त गरे।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा को-को नेता पुगे [तस्बिरमा]
विशेष महाधिवशेनमा जनजीविकाका त्यस्ता विषयलाई बन्द सत्रमा छलफल गर्ने बताउँदै उनले जनताको असन्तुष्टिका विषयमा छलफल गरी सङ्कल्प गरेर अघि बढ्ने अठोट व्यक्त गरे। महामन्त्री शर्माले कांग्रेसको नीतिमार्फत निजी क्षेत्रमा भएका उपलब्धिबारे अवगत गराउँदै निजी क्षेत्रलाई प्रोत्साहनका लागि आगामी दिनमा थप गर्नुपर्ने बताए।