राजनीति
विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालानिकटहरूको समेत उत्साहजनक उपस्थिति
काठमाडौँ। मञ्चमा कुर्सी-सोफाको औपचारिक सजावट थिएन। पार्टीका ठुला कार्यक्रममा देखिने गरी भृकुटीमण्डप झकिझकाउ बनाइएको पनि थिएन। नेताहरू महाधिवेशनस्थलमा छिर्दै मञ्चबाट उक्लिँदै चकटीमा पलेँटी कसेर बसिरहेका थिए।
बिहान साढे ११ बजेदेखि कार्यकर्ताको जुलुस एकपछि अर्को गर्दै हलमा छिर्न थाल्यो। न कसैविरुद्ध नाराबाजी थियो‚ न कुनै नेतामाथिको प्रत्यक्ष आलोचना। उनीहरू एउटै स्वरमा भनिरहेका थिए‚ “नेपाली कांग्रेस के भन्छ? गगन-विश्व ले भन्छ।”
युवा कार्यकर्ता बाहुल्य रहेको कांग्रेसको विशेष महाधिवेशन साँच्चिकै ‘विशेष’ देखिन्थ्यो। जेन-जी आन्दोलनपछि पहिलोपटक भएको पार्टीको ठुलो कार्यक्रममा कार्यकर्ताहरूको अनुहारमा अलग्गै चमक थियो। त्यो चमक पार्टीमा नीति बहसको उत्साह मात्र नभएर नेतृत्व परिवर्तनको तीव्र चाहनाको थियो।
त्यही भिडमा भेटिएका थिए- चितवनका जितनारायण श्रेष्ठ। पार्टीका पूर्वसभापति दिवंगत सुशील कोइरालाले निर्वाचन जित्ने गरेको जिल्लाबाट युवा कार्यकर्ताको टोली लिएर भृकुटीमण्डप पुगेका श्रेष्ठ भन्थे‚ “हामीले कुनै पनि हालतमा नीति मात्रै होइन‚ नेतृत्व पनि परिवर्तन गर्नुपर्छ।”
उनका अनुसार हिजो यही भृकुटीमण्डपमा शेरबहादुर देउवालाई जिताउन आएका नेताहरू आज नेतृत्व परिवर्तनको आवश्यकता महसुस गरेर आएका थिए। श्रेष्ठ भन्छन्‚ “हामी पुराना नेतालाई सम्मान गर्छौं। तर उहाँहरूले पनि सम्मानित व्यवहार देखाउनुपर्छ। नियमित महाधिवेशन गर्छौं भनिँदै आयो, तर निर्वाचनअघि नै नेतृत्व परिवर्तन गरौँ भनेर आज गाउँ-गाउँबाट हजारौँ कार्यकर्ता आउँदा नेतृत्व कहाँ बिलायो? यी भाडामा ल्याइएका मानिस होइनन्। उनीहरू स्पष्ट रूपमा नेतृत्व परिवर्तनबिनाको निर्वाचन स्वीकार्य छैन भनिरहेका छन्। अब पनि नेतृत्वले यो आवाज नसुन्ने?”
उनले भनेजस्तै विशेष महाधिवेशनमा चौधौँ महाधिवेशनमा देउवालाई साथ दिएका थुप्रै पुराना नेता पनि देखिए। सहमहामन्त्री फर्मुल्लाह मन्सुर‚ केन्द्रीय सदस्य पुष्पा भुसाल‚ डिला सङ्ग्रौला‚ पार्टीका पुराना नेता कृष्णगोपाल श्रेष्ठ‚ झापाका सुधीरकुमार शिवाकोटी‚ कोसी प्रदेशका सह-महामन्त्री तथा देउवानिकट खड्ग फागोदेखि उद्योगपति विनोद चौधरीसम्म भृकुटीमण्डप पुगेका थिए।
उर्लाबारी नगरपालिकाका पूर्वमेयरसमेत रहेका फागो भन्छन्‚ “जेन-जी विद्रोहपछि साँच्चिकै तल्लो तहका कार्यकर्ता पार्टीमा नयाँ नेतृत्वबिना चुनावमा जान सकिन्न भनिरहेका छन्। म आफैँ लामो समयसम्म देउवा दाइसँग निकट भएर पार्टीको नेतृत्व गर्दै आएको हुँ। यो विशेष महाधिवेशन मात्र नभएर नेतृत्व परिवर्तन चाहने नेता-कार्यकर्ताको महासागर हो।”
विशेष महाधिवेशनमा पार्टीकै वरिष्ठ नेता शेखर कोइरालानिकटहरूको समेत उपस्थिति निकै उत्साहजनक देखियो। चौधौँ महाधिवेशनमा शेखरको समूहमा उपसभापति उठेका नेता चन्द्र भण्डारी‚ अन्य नेताहरू गुरुराज घिमिरे‚ सुनील शर्मा‚ कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलगायतसमेत विशेष महाधिवेशनमा होमिएका थिए।
शर्माले भने‚ “शेरबहादुरजी तपाईंलाई हामी सात विकल्प दिन्छौँ‚ तपाईं विशेष महाधिवेशनमा आउनुस्‚ तपाईं नै भोलि सभापति बन्नुभयो फूलमाला लगाइदिन्छौँ। परिवर्तनको आवाजलाई नजरअन्दाज नगर्नूस्।”
कांग्रेसमा २०१४ सालमा बीपी कोइरालाको अगुवामा पहिलो विशेष महाधिवेशन भएको थियो। ६८ वर्षपछि दोस्रो विशेष महाधिवेशन हुँदा मुख्य केन्द्रविन्दु महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा थिए। उनीहरूको मन्तव्य सुन्न कार्यकर्ताहरू बेलुका साढे ६ बजेसम्म धैर्यपूर्वक भृकुटीमण्डपमा अडिएको देखियो।
महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले नेपाली कांग्रेस दास र लासको पार्टी नभएको बताए। “कांग्रेस दास र लासको पार्टी होइन‚ हामी सबै बराबर छौँ। कसैले नबोल भनेर नबोल्ने होइन‚ जसले प्रश्न नसोध भन्छ‚ उसले जवाफ पनि दिन सक्दैन‚” उनले भने।
महामन्त्री थापाले कांग्रेसप्रति जनताको भरोसा रहेको बताउँदै चुनावभन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनु पर्ने बताए। “चुनाव आउँछ जान्छ‚ जितिन्छ हारिन्छ‚ अहिले सिस्टम र संविधान जोगाउनु पर्नेछ‚ त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछ‚” थापाले भने।
कांग्रेस विशेष महाधिवेशन : अन्य दलका परिवर्तन पक्षधर नेताहरूको चासो
अर्का महामन्त्री शर्माले आमनागरिकका गुनासा‚ असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा संकलन‚ पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट महाधिवेशन हेरिरहेका नागरिकलाई सम्बोधन गर्दै कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने स्पष्ट पारे।
“आदररणीय आमाबुबा‚ दिदीबहिनी‚ दाजुभाइहरू कसैले लाइभ‚ कसैले युट्युबमार्फत हेर्दै हुनुहुन्छ। तपाईंहरू प्रत्येकका असन्तुष्टिलाई केस्राकेस्रा‚ बुँदाबुँदामा केलाएर कांग्रेसको महाधिवेशनमा छलफल गर्नेछौं‚ पहिचान गर्नेछौं‚” शर्माले भने‚ “फागुन २१ गते रूख चिह्नमा मतदान हुनुअघि नागरिकका गुनासा टिपोट गरेर‚ पहिचान गरेर‚ नदोहोर्याउने संकल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दै छौँ।”
महामन्त्री शर्माले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिक सन्तुष्टि कायम हुन नसकेको उल्लेख गरे। सरकार परिवर्तनले सत्तामा पुगेकालाई त सन्तुष्टि मिलेको हुनसक्ने तर आम नागरिकले अनुभूति गर्न नसकेको उनको भनाइ थियो।
“३४ वर्षमा ३० वटा सरकार बनाउँदा सन्तुष्टि प्रधानमन्त्री बन्नेहरूलाई मिल्यो होला‚ नागरिकलाई मिलेन‚” उनले भने‚ “प्रशासनिक कार्यालयमा सेवा लिन गएका सेवाग्राही कोठाबाट अर्को कोठा धाइरहनुपर्छ। भोलि-भोलि भनिँदा सीडीओ वा मन्त्रीलाई सञ्चो लाग्ला‚ सेवाग्राहीलाई लाग्दैन।”
महामन्त्री शर्माले विशेष महाधिवेशनलाई केवल संगठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताए।
कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराए
जेन-जी आन्दोलनपछि नेतृत्व परिवर्तनको माग गर्दै कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान संकलन गरिएको थियो। ५४ प्रतिशत हस्ताक्षरसहित महामन्त्रीद्वयले २९ असोजमा पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका थिए।
यसपछि नेतृत्वले २८ पुसमा नियमित महाधिवेशन बोलाएको थियो। उक्त समयमा नियमित महाधिवेशन गर्न सम्भव नभएको भन्दै पार्टीले २७ वैशाख २०८३ मा आह्वान गरेको थियो। नियमित महाधिवेशनसमेत छलेको भन्दै विशेष महाधिवेशन पक्षधरले दबाब बढाएका थिए। तर‚ नेतृत्व न विशेष महाधिवेशन गर्न‚ न त्यहाँ सहभागी भएर कार्यकर्ताको आवाज सुन्न नै चाहेको थियो। परिणामत: महामन्त्रीद्वयले २७ पुसमा विशेष महाधिवेशन औपचारिक रूपमै आह्वान गर्दा भृकुटीमण्डप विशेष बनेको थियो।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा को-को नेता पुगे [तस्बिरमा]
प्रचार-प्रसार उपसमिति सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार महाधिवेशनको तयारी छोटो अवधिमा भएको हो। “सात दिनको तयारीमा विशेष महाधिवेशनको सम्पूर्ण चाँजोपाँजो मिलाइएको हो‚” उनी भन्छन्‚ “महाधिवेशन साँच्चिकै विशेष नै भएको छ। नाम दर्ता गर्ने प्रतिनिधिको संख्या उत्साहजनक छ।” आइतबार बेलुकासम्म २‚६६२ प्रतिनिधिले नाम लेखाएका छन्। महाधिवेशन प्रतिनिधिले नाम लेखाउने क्रम जारी छ। क्रम सोमबार बिहान बन्दसत्रभन्दा अगाडिसम्म जारी राखिने चम्लगाईंले बताए।
नेपाली कांग्रेसमा जम्मा ४‚७४३ जना महाधिवेशन प्रतिनिधि छन्। तीमध्ये ५१ प्रतिशत सदस्यले मतदान गरे मात्रै नेतृत्व चयन हुने व्यवस्था विधानले गरेको छ। अर्थात् २‚४१९ जना प्रतिनिधिले मतदान गर्न सक्दा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुन्छ। त्यसकारण महाधिवेशनले नयाँ नेतृत्व छान्नका लागि वैध संख्या पुगेको छ। कार्यकर्ताहरूले नीति र नेतृत्व परिवर्तनको संघारमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन रहेको प्रतिक्रिया दिएका छन्।