काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

राजनीति

समानुपातिकको सूची बुझाउने म्याद १४ पुसमै सकिएकाले उज्यालो नेपालले पाउने छैन नयाँ नाम बुझाउन

२७ पुष २०८२
उज्यालो नेपालको अध्यक्ष बनेपछि २६ पुस २०८२ मा कुलमान घिसिङको पत्रकार सम्मेलन। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच सात बुँदे सहमति भएको १२औँ दिनमै एकता प्रक्रिया भंग भएपछि उनेपा समानुपातिक उम्मेदवारशून्य भएको छ।

कुलमान घिसिङ समूह अलग भएपछि रास्वपाले आइतबार निर्वाचन आयोगमा पुगेर समानुपातिक सूची अद्यावधिक गर्न निवेदन दिएको छ। जसमा उज्यालोबाट समानुपातिक सूचीमा परेकी रिमा विश्वकर्मा र अभिषेकराज सिंहबाहेक अरू उम्मेदवारको नाम हटाइएको छ। रास्वपामै रहने निर्णय गरेका कारण उनीहरूको नाम नहटाइएको हो। रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुली भन्छन्, “हामीले आयोगमा निवेदन दियौँ। अद्यावधिक भएर आएपछि थपिएका नयाँ नाम सार्वजनिक गरिनेछ।”

उनेपा नेताहरू भने अब नयाँ विकल्पको खोजीमा लागेका छन्। रास्वपा र उनेपाबीच एकता भंग भएपछि शनिबार साँझ पत्रकार सम्मेलन गर्दै उनेपाका नवनियुक्त अध्यक्ष घिसिङले निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाउने समय बाँकी नरहेकाले नयाँ सम्भावना खोजी गर्ने बताएका थिए। उनले प्रत्यक्षतर्फ भने १६५ क्षेत्रमै उमेदवार उठाउन तयारी गरेको पनि बताएका थिए।

१४ पुसमा रास्वपा र उनेपाबीच सात बुँदे सहमति भएको थियो। सोही दिन समानुपातिकको सूची बुझाउने अन्तिम भएकाले रास्वपा, उनेपा र बालेन्द्र शाहको तर्फबाट रास्वपाले समानुपातिक उम्मेदवारको सूची बुझाएको थियो। रास्वपको सूचीमा उनेपाबाट १८ जनाको नाम समावेश थियो। त्यसमा आदिवासी जनजातितर्फ महेन्द्र लावती, धर्मलाल तामाङ, माया डोल्मा लामा, तुलसा वाइबा, लाक्पा फुटी शेर्पा र त्रिशाला गुरुङ समेटिएका थिए।

त्यस्तै खस आर्यतर्फ देवकी पौडेल, अनुपकुमार उपाध्याय, दुर्गाबहादुर घिमिरे, कुमारराज सुवेदी, सीतादेवी पाण्डेय, सरला लामिछाने थिए। त्यसैगरी दलिततर्फ रिमा विश्वकर्मा र राजदेव राम, मधेसीतर्फ अभिषेकराज सिंह, मनीषा कुमारी, सोमप्रसाद चौधरी र बालिका चौधरी समेटिएका थिए।

केही नाममा विवाद भएपछि रास्वपाले लाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमारराज सुवेदी र राजदेव रामको नाम काटेर १४ जनाको नाम मात्र सूचीमा समावेश गरेको थियो भने महेन्द्र लावती र त्रिशाला गुरुङले समानुपातिक उमेदवारबाट नाम फिर्ता लिएका थिए।

निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाउने म्याद १४ पुसमै सकिएकाले उज्यालो नेपालले अब नयाँ नाम बुझाउन पाउने छैन। दलहरूले बुझाएको समानुपातिक सूचीमा क्लस्टर नमिलेको भन्दै आयोगले २१ देखि २७ पुससम्म संशोधन गर्न सक्ने समय दिएको थियो। त्यस्तै आयोगले समानुपातिकको सूचीबाट नाम फिर्ता लिन चाहने उमेदवारलाई २८ पुससम्मको समय दिएको छ।

समानुपातिक सूचीमा परेका कसैले नाम फिर्ता लिएमा आयोगले २९ पुससम्म सम्बन्धित दललाई त्यसको जानकारी दिनेछ। त्यसरी रिक्त भएको स्थानमा सोही समूहको अर्को उमेदवारको मनोनयन गर्न सकिने छ। त्यसको लागि दलहरूलाई ३० पुससम्मको समय तोकिएको छ।

आफ्नो पार्टी समानुपातिक उम्मेदवारशून्य भएपछि उज्यालो नेपालका नेताहरू अहिले अरू दलले पठाएको सूचीमा आफ्ना उम्मेदवारको नाम समावेश गर्न छलफल गरिरहेका छन्। अरू दलसँग चुनावी तालमेल गर्ने सहमति भएमा तालमेल हुने दलले बुझाएको समानुपातिक सूचीमा उज्यालोका उमेदवारको नाम थप्न सक्ने सम्भावना दलहरूसँग कुरा भइरहेको उनेपाका नेता महेन्द्र सुन्दर लावती बताउँछन्। भन्छन्, “दलहरूसँग सहकार्यको सम्भावनामा छलफल गरिरहेका छौँ।”