काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ। महाधिवेशनमा पार्टी स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका सबैको तस्बिर राखिएको छ।
तर महाधिवेशनको मुख्य ब्यानरमा सभापति शेरबहादुर देउवाको तस्बिर छुटाइएको छ। पार्टी स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका सबैको तस्बिर राखिए पनि देउवा मात्रै नराखिएको हो।
पार्टीका पूर्वसभापतिहरू बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला‚ सुशील कोइरालालगायतको तस्बिर राखिएका छन्। तर सुशीलपछि लगातार दुईपटक सभापति बनेका देउवाको तस्बिर भने राखिएको छैन।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार साँझ ६ बजेसम्म विशेष महाधिवेशनमा चार हजार ७४३ प्रतिनिधिमध्ये २१ सय प्रतिनिधिले नाम दर्ता गराएका छन्। प्रतिनिधिले नाम दर्ता गराउने क्रम जारी छ।

२०१४ सालमा पहिलो विशेष महाधिवेशन विराटनगरमा भएको थियो। बीपी कोइरालाको नेतृत्वमा उक्त महाधिवेशन भएपछि अहिले दोस्रो विशेष महाधिवेशन भइरहेको हो।
५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएका थिए। उक्त महाधिवेशनलाई कांग्रेस नेतृत्वसहित बहुमत पदाधिकारीले अस्वीकार गरेका छन्।
कार्यक्रममा सभापति कोइरालासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, सह-महामन्त्री उमाकान्त चौधरी, डिना उपाध्याय, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ छैनन्।
यो पनि…
कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा को-को नेता पुगे [तस्बिरमा]
केन्द्रीय सदस्य प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, प्रकाशशरण महत, सुनीलबहादुर थापा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, सुजाता कोइराला, एनपी साउदलगायत नेताहरू उपस्थित छैनन्।
विशेष महाधिवेशन आयोजक समितिले सभापति देउवालाई निम्तो दिए पनि अस्वीकार गरेका थिए।
