काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

पृथ्वी जयन्ती

पृथ्वीनारायण शाहको नेपाल एकीकरणको उपज र विश्वयुद्धहरूबाट स्थापित ‘गोर्खा ब्रान्ड’ बजारीकरण गर्न सरकार नै उदासीन

२७ पुष २०८२
सन् २०२५ को ब्रिटिस गोर्खा भर्ती। तस्बिर स्रोत : गोर्खा ब्रिगेड एसोसिएसन
अ+
अ-

धरानका देवमान लिम्बू हस्तकला व्यवसाय गर्थे। एकातिर व्यवसायमा अनेक झन्झट, अर्कातिर भूतपूर्व बेलायती सैनिक बुवा र आमाको हङकङ बसाइ। नेपालभन्दा उतै राम्रो अवसर देखेपछि उनी सन् २०११ मा परिवारसँगै हङकङ गए। त्यहाँ उनले हस्तकला होइन, सुरक्षा गार्डको काम थाले। अहिले उनी आईएसएस कम्पनीमार्फत हङकङ अध्यागमनको मुख्यालयको सुरक्षामा खटिएका छन्।

हङकङका प्रसिद्ध उद्यमी तथा एसियाका धनाढ्यमा गनिने ली का-सिङले पनि आफ्नो सुरक्षाका लागि ‘गोर्खा गार्ड’ को टोली नै राखेका छन्। त्यहाँका धेरै धनाढ्यका घरदेखि ठूला व्यापारिक प्रतिष्ठानको सुरक्षामा नेपाली गार्ड नै छन्। “इमानदार र बहादुर गोर्खा गार्ड राख्नुलाई हङकङमा प्रतिष्ठाको विषय मानिन्छ, त्यसैले पनि गोर्खा पहिलो रोजाइमा पर्छन्,” आईएसएस कम्पनीमार्फत हङकङ अध्यागमनको मुख्यालयको सुरक्षामा तैथान लिम्बू भन्छन्। यस कम्पनीमा ५० जनाभन्दा बढी नेपाली सुरक्षा गार्ड छन्।

सन् २०२१ को जनगणनाअनुसार हङकङमा ३० हजार हाराहारी नेपाली छन्। लिम्बूका अनुसार तीमध्ये झन्डै पाँच हजार हाराहारीले सुरक्षा गार्डको काम गर्छन्। दैनिक आठ घन्टा काम गरेबापत मासिक कम्तीमा १८ हजार हङकङ डलर तलब अर्थात् हालको दरमा तीन लाख ४२ हजार रुपैयाँ पाउँछन्। नेपालीले नै सञ्चालन गर्ने सुरक्षा गार्ड कम्पनी पनि थुप्रै छन्।

हङकङ मात्र होइन, सुरक्षाका लागि संसारमै ‘गोर्खा ब्रान्ड’ प्रसिद्ध छ। २०० वर्षदेखि नेपालीलाई आफ्नो सेनामै भर्ना गरिरहेको बेलायतमा झन् सुरक्षा गार्डमा भूपू गोर्खा सैनिकको माग हुने नै भयो। प्रथम विश्वयुद्धमा दुई लाख र दोस्रो विश्वयुद्धमा दुई लाख पचास हजार नेपालीले बेलायतका पक्षमा लडेका थिए।

बेलायतले हाल वार्षिक २०० देखि ३०० को संख्यामा नेपालीलाई गोर्खा सैनिकका रूपमा भर्ना लिने गरेको छ। भर्ना भएका गोर्खालाई बेलायती सेनासँगै सिंगापुर प्रहरीमा पनि पठाउने गरेको छ। अवकाशपछि थप सेवा गर्न चाहनेलाई बेलायतले नै गोर्खा रिजर्भ युनिट (जीआरयू) भनेर ब्रुनाईमा सुरक्षा गार्डका रूपमा समेत पठाउने गरेको छ।

सन् २०२५ मा भर्ना भएका ब्रिटिस गोर्खाको परेड। तस्बिर स्रोत : गोर्खा ब्रिगेड एसोसिएसनविगतमा बेलायती सेनाबाट अवकाश भएका भूपू गोर्खा सैनिकहरू नेपाल फर्किएर विभिन्न पेसा-व्यवसाय गर्थे। उनीहरूको निवृत्तिभरण (पेन्सन) नेपालमै आउँथ्यो। सँगैका गोरा सैनिकसरह आफूहरूलाई पनि समान पेन्सनको माग गर्दै कानुनी लडाइँमा गएका भूतपूर्व गोर्खा सैनिकलाई सन् २००४ देखि बेलायतले आवासीय अधिकार प्रदान गर्‍यो।

त्यसयता नेपाल र हङकङमा रहेका भूतपूर्व गोर्खा र उनीहरू सन्तान बेलायत गइरहेका छन्। उनीहरूले बेलायतमा गर्ने पहिलो काम सुरक्षा गार्डकै हो। बेलायतमा नेपालीमूलका करिब तीन लाख मानिस बसोबास गर्छन्। त्यसमध्ये ठूलो संख्या भूतपूर्व गोर्खाकै छ। भूतपूर्व गोर्खा सैनिकमध्ये ७० प्रतिशत जति सुरक्षा गार्डकै काम गर्छन्।

बहादुरीको बिरासत

गोरखाका राजा पृथ्वीनारायण शाह (विसं १७७९–१८३१)ले आजको नेपाल एकीकरण गरेपछि देशमा गोर्खा चिनारीको सुरुआत भएको थियो। तर, बहादुरीको पर्याय गोर्खाली सेनालाई बनाउने श्रेय भने नेपाल-अंग्रेज युद्ध र दुई विश्वयुद्धलाई जान्छ।

गोर्खाली सेना र बेलायत अधीनस्थ इस्ट इन्डिया कम्पनीका सेनाबीच १ नोभेम्बर १८१४ देखि २८ फेब्रुअरी १८१६ सम्म नालापानी किल्लामा युद्ध भएको थियो। युद्धमा गोर्खाली सेनाको बहादुरी र इमानदारीले कायल बेलायतले भारतको देहरादुनमा गोर्खालीको बहादुरीको प्रशंसामा स्तम्भ नै निर्माण गरेको थियो।

युद्धरत अवस्थामै अक्टरलोनीले गोरखाली सेनाका जवानहरूलाई तत्कालीन हिन्दुस्तानी सेनामा भर्ती गर्न सकिने सर्त समावेश गरी पश्चिम क्षेत्रका नेपाली सेनाध्यक्ष अमरसिंह थापासँग सम्झौता गरेको त्रिभुवन विश्वविद्यालयको इतिहास विभागकी उपप्राध्यापक तिलु थापा (श्रेष्ठ)ले आफ्नो लेखमा उल्लेख गरेकी छन्। विभागको जर्नल भ्वाइस अफ हिस्ट्रीमा प्रकाशित उक्त लेखमा छ, ‘सम्झौताअनुसार युद्धबाट भागेका चार हजार ६५० गोर्खाली सेनालाई अंग्रेज सेनामा भर्ती गरेर तीन वटा बटालियन खडा गरिएको थियो।’

त्यसपछि विश्वयुद्धमा बेलायतले अग्रपंक्तिमा यिनै गोर्खालाई खटायो। प्रथम र दोस्रो विश्वयुद्धमा लडेका गोर्खा सैनिकले विश्वभर आफ्नो वीरताको परिचय दिए। पछिल्लोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ-उनबीच १२ जुन २०१८ मा सिंगापुरमा पहिलो शिखर वार्ता स्थलको सुरक्षा गोर्खा कन्टिन्जेन्टले गरेको थियो। संसारका शक्तिशाली नेताहरूले समेत गोर्खा सैनिकलाई विश्वास गरेको यसबाट बुझ्न सकिन्छ।

संसारले चिनेको गोर्खा ब्रान्डलाई आफ्नै देशले भने ध्यान नदिएको त्रिभुवन विश्वविद्यालयबाट ‘गोर्खा रिक्रुटमेन्ट एन्ड कल्चरल ट्रान्सफर्मेसन अमोङ द मगर्स’ विषयमा विद्यावारिधिका लागि शोध गरिरहेका मनोज घर्ती मगर बताउँछन्। भन्छन्, “गोर्खा सैनिकहरूले विश्वका ठूल्ठूला युद्ध लडे र जिते। उनीहरूले सिकेका सीप र संसारमा बनाएको ब्रान्ड स्वदेशले नै सदुपयोग गर्न सकेन।”

नेपालबाट सुरक्षा गार्डको काम गर्न विभिन्न देश जान सन् २०२३/२४ मा २९ हजार ४४१ जनाले सरकारसँग अनुमति लिएका थिए।

ब्रिटिस गोर्खामा भर्ती हुन तालिम गरिरहेका युवाहरू। तस्बिर : ब्रिटिस गोर्खाज प्रिट्रेनिङ सेन्टर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदनअनुसार सुरक्षा गार्डका लागि अनुमति लिइएका प्रमुख पाँच गन्तव्यमा मलेसिया, यूएई, कतार, कुवेत र मकाउ छन्। जसमा मलेसियाका लागि १५ हजार ७६५, यूएईका लागि आठ हजार ९४४, कतारका लागि एक हजार ६०५, कुवेतका लागि ९९६ र मकाउका लागि ६४७ जनाले अनुमति लिएका थिए। बाँकी एक हजार ४८४ ले अन्य देशका लागि अनुमति लिएका थिए।

सन् २०२१/२२ मा सुरक्षा गार्डका लागि अनुमति लिनेको संख्या १४ हजार ८९ थियो। त्यसमध्ये प्रमुख पाँच देशमा युएईका लागि पाँच हजार ६१५, मलेसियाका लागि दुई हजार ४१४, कतारका लागि दुई हजार ३९५, कुवेतका लागि एक हजार ६७० र बहराइनका लागि ७६१ जनाले अनुमति लिएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ। “नेपाली वैदेशिक रोजगारमा जाने चलन नै गोर्खा सैनिकबाट सुरु भएको हो। गोर्खाकै ब्रान्डले गर्दा सुरक्षा गार्ड र अन्य काममा नेपालीको माग धेरै छ,” नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ भन्छन्।

भूतपूर्व गोर्खा सैनिकहरू बेलायत, हङकङमा सुरक्षा गार्डका रूपमा जान्छन् भने नेपाली सेना, प्रहरी र सशस्त्रका भूतपूर्वहरू नेपालका म्यानपावर कम्पनीहरूमार्फत विभिन्न देश जाने गरेका छन्। विभिन्न देशका दूतावास र अन्तर्राष्ट्रिय संस्थाहरूमा नेपालीहरू सुरक्षा गार्डका रूपमा जाने गरेका छन्। त्यस्तै, अफगानिस्तान, इराक, अफ्रिका, काबुलजस्ता द्वन्द्वग्रस्त देशहरूमा पनि नेपाली सुरक्षा गार्डका रूपमा जाने गरेका छन्। मलेसिया, बहराइन, कतार, दुबई, साउदी, कुवेत, ओमनलगायतमा पनि सुरक्षा गार्डका रूपमा नेपालीको माग उच्च छ।

नेपालका म्यानपावर कम्पनी र विदेशका ठूला सेक्युरिटी कम्पनीले गोर्खा ब्रान्डलाई प्रयोग गरेर फाइदा लिए पनि सरकारले भने यो ‘ब्रान्ड’ बेच्न सकेको छैन।

गुमिरहेको विप्रेषण

अन्तर्राष्ट्रिय जगत्‌मा नेपाल चिनाउने मुख्य तीन ‘ब्रान्ड’ छन्– सगरमाथा, बुद्ध र गोर्खा सैनिक।

नेपालको पर्यटन उद्योगमा सगरमाथासहितका हिमाल र बुद्ध जन्मस्थल लुम्बिनीका कारण बर्सेनि पर्यटक भित्रिने गरेका छन्। जसबाट देशले राम्रो आम्दानी गर्ने गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा नेपालमा हिमाल आरोहण र पदयात्राका लागि जम्मा एक लाख ७५ हजार ५७५ पर्यटक आएका थिए। त्यस्तै, धार्मिक यात्राका लागि एक लाख ६६ हजार ३९१ जना, बिदा मनाउन ६ लाख ९३ हजार ११९ जना र अन्य एक लाख १२ हजार ४६०  जना पर्यटक नेपाल भित्रिए, जसमध्ये लुम्बिनी आउनेको संख्या एक लाख ११ हजार ४०३ थियो।

सन् २०२४ मा नेपालले पर्यटनबाट ६२ करोड ३४ लाख डलर बराबरको आम्दानी गरेको थियो। यो रकम अहिलेको दरअनुसार ९० अर्ब रुपैयाँ हाराहारी हुन्छ।

सगरमाथा र लुम्बिनीको ब्रान्डबाट देशले राम्रो आम्दानी गरिरहँदा गोर्खा ब्रान्डबाट भने सरकारले फाइदा लिन सकेको छैन। भूतपूर्व गोर्खा सैनिक तथा लेखक काङमाङ नरेश राई सरकारले भूतपूर्व गोर्खा सैनिकको कला प्रयोग गरेर ‘सेक्युरिटी’ सम्बन्धी ठूला कम्पनी स्थापना गरी अन्तर्राष्ट्रियस्तरमा व्यापार गर्न जोडबल गर्नुपर्ने बताउँछन्। “भूपू सैनिकको सीप प्रयोग गरेर सरकारले नै ठूलो फाइदा लिन सक्थ्यो, तर गोर्खा ब्रान्ड प्रयोग गरेर देशलाई फाइदा पुग्ने कुनै नीति पनि बनाउन सकेन,” राई भन्छन्।

ब्रिटिस गोर्खामा भर्ती हुन तालिम गरिरहेका युवाहरू। तस्बिर : ब्रिटिस गोर्खाज प्रिट्रेनिङ सेन्टर

अहिले भूतपूर्व सैनिकहरूलाई बेलायतले नै सेक्युरिटी गार्डका रूपमा अन्य देश पठाउने गरेको छ भने कतिपय भूतपूर्व सैनिक व्यक्तिगत रूपमा विभिन्न देश गएर सुरक्षा गार्डका रूपमा काम गरिरहेका छन्। नेपालका म्यानपावर र विदेशका सुरक्षा कम्पनीले गोर्खा ब्रान्ड बेचेर लाभ लिइरहेका छन्। सरकार आफैँले भूतपूर्व गोर्खालाई समेटेर विश्वभरका शासक तथा कम्पनीमा सुरक्षा गार्डका रूपमा पठाउन सके मात्र गोर्खा ब्रान्डबाट फाइदा लिन सक्ने अध्येताहरू बताउँछन्।

विश्वयुद्धमा गएका तर अहिलेसम्म अत्तोपत्तो नभएका गोर्खा सैनिकबारे खोज गरिरहेका देवराज राई अहिलेको प्रविधिको युगमा समेत स्थल सेनाका रूपमा नेपालीको भर्ती भइरहेका बेला सुरक्षा गार्डमा झनै ठूलो माग रहेको बताउँछन्। “ढिला त भइसक्यो, तर अझै पनि गोर्खा ब्रान्डलाई प्रयोग गरेर वैदेशिक रोजगारीमा जान चाहने युवालाई तालिम दिएर सुरक्षा गार्डमा पठाउने नीति बनाउन सकिन्छ,” उनी भन्छन्।

तर, सरकारले यसबारे कहिल्यै नसोचेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङको भनाइ छ। भन्छन्, “सरकारले चाहने हो भने अहिले पनि सीटीईभीटीबाट तालिम दिएर, गोर्खालाई ब्रान्डिङ गरेर संसारभर सुरक्षा गार्डका रूपमा पठाउन सक्छ, तर त्यसतर्फ सरकारको ध्यान नै पुगेको छैन।”

नेपालको वैदेशिक रोजगारसम्बन्धी नीति निर्माणमा सहभागी श्रमविज्ञ गणेश गुरुङ चाहिँ आफूले गोर्खा ब्रान्डलाई सरकारी नीतिमा समेट्ने प्रयास गर्दा पनि सफल नभएको बताउँछन्। नेपाली सेनाको एउटा गुल्मलाई त्यस्तै जनशक्ति उत्पादन गर्न प्रयोग गर्ने र उत्पादित दक्ष जनशक्तिलाई गोर्खा सुरक्षा गार्डका नाममा संसारभर पठाउन सकिने आफूले प्रस्ताव गरेको बताउँदै उनी भन्छन्, “तर, यसरी सरकारले नै सुरक्षा गार्ड पठाउँदा लाज हुन्छ भन्ने जवाफ आयो, सीप भएको जनशक्ति नै नपठाउने सरकारी नीतिले देशले ठूलो परिमाणमा विप्रेषण भित्र्याउने अवसर गुमाइरहेको छ।”