दृष्टिकोण
सानो राज्यलाई बढाउने महत्त्वाकांक्षाबाट गरिएको विस्तारको कामलाई एकीकरण अभियान भनेर पृथ्वीनारायण शाहलाई ‘राष्ट्रनिर्माता’ को संज्ञा दिनु इतिहासको अल्पबुझाइ हो।
नेपाली समाजमा पृथ्वीनारायण शाहको नाम जोडेर अनेक भाष्य बनाउने होडबाजीजस्तै चल्दै आएको छ। यस्ता भाष्यमा मिसिनेहरूलाई मात्रै सच्चा देशभक्त, राष्ट्रवादी मान्ने र चिन्ने/चिनाउने प्रवृत्तिको पनि विकास भइरहेको छ। यो होडबाजीमा लागेको जमातलाई सानो टिप्पणी गर्दा पनि महँगो पर्न जान्छ। गालीको वर्षा भइहाल्छ, जुन नेपाली नेपालीबीच कित्ताकाट गर्न पर्याप्त हुन्छ।
पृथ्वीनारायणले नेपाल राज्य बनाएको र उनी ‘आधुनिक नेपालका निर्माता’ वा ‘राष्ट्रनिर्माता’ भन्ने भाष्य फैलाउने काम हुँदै आएको छ। अन्य विषय क्षेत्रका व्यक्तिहरूमा त जानकारीको अभाव भनेर चित्त बुझाउन सकिन्छ, तर इतिहास अध्येताहरू पनि त्यही होडबाजीमा लागेर अनेक अभिव्यक्ति दिँदै रमाइरहेको देखिन्छ। अचम्म त के छ भने, यस्तो सोच र प्रवृत्तिप्रति कुनै प्रश्न उठाउनै नहुने संकुचित मान्यता स्थापना गर्न उनीहरू प्रयासरत छन्।
नेपाल कसले बनाएको भन्ने प्रश्नसँग जोडिएको पृथ्वीनारायणको विषयबारे जवाफ ऐतिहासिक आधारबाटै खोजिनुपर्छ।
सर्वप्रथम ‘नेपालका निर्माता’ वा ‘आधुनिक नेपालका निर्माता’ भन्ने भाष्यबारे विचार गरौँ। यसलाई अर्को शब्दमा नेपाल राज्यको एकीकरण पनि भन्ने गरिएको छ। पृथ्वीनारायणले एकीकरण नगरेको भए नेपाल हुँदैनथ्यो, हामी नेपाली नै हुन्नथ्यौँ भन्ने कथन सुनिन्छ। जसमा न तार्किकता छ, न ऐतिहासिकता।
विश्व इतिहासमा लामो समयसम्म अक्षुण्ण रूपमा सभ्यता र संस्कृतिले निरन्तरता पाइराख्ने थोरै भूक्षेत्रमा नेपाल पनि एक हो।
पृथ्वीनारायणले राज्य एकीकरण गरेको कुरा सत्य होइन, अर्धसत्य मात्र हो। अर्थात्, त्यो एकीकरण अभियान नभई राज्य विस्तार थियो। गोरखा नामको एउटा सानो राज्यका राजा पृथ्वीनारायणलाई आफ्नो राज्य साह्रै सानो लाग्यो र लमजुङ, पर्वत, कास्कीलगायत राज्यहरूबाट हेपिएर बस्नुपर्दा राज्य विस्तार गर्ने महत्त्वाकांक्षा जाग्यो। छिमेकी राज्य कान्तिपुरअन्तर्गतको एउटा भूभागका रूपमा रहेको नुवाकोटमा कब्जा जमायो। त्यसअघि नुवाकोटमा उनकै बुवा नरभूपाल शाहले आक्रमण गरे पनि असफलता हात लागेको थियो। पृथ्वीनारायण पनि दोस्रो प्रयासमा मात्र सफल भएका थिए।
यसरी नै आक्रमण गर्दै र अन्य राज्यका भूभाग जितेर आफ्नोमा मिलान गर्दै जाँदा ठूलो भूक्षेत्र हात लाग्यो। यस कार्यका लागि पृथ्वीनारायणले कहीँकतै ‘एकीकरण’ शब्द प्रयोग गरेका छैनन्। बरु ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन’ भनेका छन्।
घटना र प्रवृत्तिको अध्ययन गर्दा पनि पृथ्वीनारायणले गरेको काम एकीकरण नभएर राज्य विस्तार नै देखिन्छ। राज्यको राजनीतिक भूगोल खुम्चिने र फैलिने भइराख्छ। इतिहासको लामो समय नेपाल राज्यको राजनीतिक भूगोल फराकिलो थियो र गोरखालगायत कतिपय स्वतन्त्र राज्यहरू यसअन्तर्गत थिए। पृथ्वीनारायण वा समकालीन कुनै पनि व्यक्तिहरूमा इतिहासको यो जानकारी रहेको देखिँदैन। यो जानकारी हिजोआज मात्रै ऐतिहासिक खोज र व्याख्याबाट जानिएको हो। प्राप्त जानकारीहरूको स्रोत पनि तत्कालीन ‘नेपाल’ भनिने भूक्षेत्रको केन्द्र हिजोआजको काठमाडौँ उपत्यका मात्रै हो। यसले स्पष्ट पार्छ, नेपाल र नेपाली निकै अघिदेखि थिए, बरु पृथ्वीनारायण शाह स्वयं नेपाली थिएनन्, गोरखाली थिए। विस्तारित राज्यको नाम गोरखा नै राखेको भए विश्वको राजनीतिक मानचित्रमा आज यो देशको नाम ‘नेपाल’ नभएर ‘गोरखा’ हुन्थ्यो र सबै नागरिकको पहिचान ‘गोरखाली’ हुन्थ्यो। नेपाल एउटा सीमित भूगोलमा खुम्चिन्थ्यो, नेपाली भनेर केवल नेवार समुदायलाई जानिन्थ्यो।
विश्व इतिहासमा लामो समयसम्म अक्षुण्ण रूपमा सभ्यता र संस्कृतिले निरन्तरता पाइराख्ने थोरै भूक्षेत्रमा नेपाल पनि एक हो। नेपालको लिखित इतिहास इस्वी संवत् सुरु भएको केही सय वर्षपछि मात्र स्पष्ट रूपमा उपलब्ध हुन्छ, तर नेपाल क्षेत्रमा मानव बसोबास र सभ्यताको सुरुआत त्यसभन्दा धेरै पहिलेदेखि भएको प्रमाण पाइन्छ। जुन बेला इतिहास खुल्छ, त्यतिबेलासम्म यस भूक्षेत्रमा व्यापार, व्यवसाय, कला, साहित्य र संस्कृति तथा राज्यव्यवस्था उन्नत अवस्थामा पुगिसकेको देखिन्छ। यस अवस्थामा पुग्न दुई-चार सय वर्षले सम्भव हुँदैन। अझ तथ्यगत रूपमा भन्नुपर्दा गौतम बुद्ध (५६३–५८३ इपू)कै जीवनकालमा वर्तमान भारतका विभिन्न क्षेत्रबाट व्यापार-व्यवसायका लागि मानिसहरू नेपाल आउँथे। सामाजिक तथा सांस्कृतिक सम्बन्ध स्थापना भइसकेको थियो। गौतम बुद्धको शिक्षामा आधारित बौद्ध धर्मको प्रवेश यसैबेला नेपाल भूखण्डमा परिचित भइसकेको थियो।
नेपालको भूमि विस्तारकै कुरा गर्दा ऐतिहासिक रूपमा के पुष्टि हुन्छ भने, लिच्छवि राजा मानदेवले विरासतका रूपमा पाएको भूक्षेत्र पनि वर्तमान काठमाडौँ उपत्यकामा मात्रै सीमित थिएन। चाँगुनारायण मन्दिर परिसरमा रहेको उनको एउटा अभिलेखले यसको जानकारी गराउँछ।
आजभोलि कतिपयले भन्ने गरेजस्तो गोपालवंशी राज्यव्यवस्थाको स्थापना नेपालको प्रागितिहासको सुरुआत थिएन। आजभोलि काठमाडौँ उपत्यका भनिने तत्कालीन नेपाल उपत्यका त्यति सुदूर अतीतमा ठूलो तलाउका रूपमा छँदै त्यसवरिपरि मानव बसोबास थियो। तलाउको पानी सुक्दै गएपछि वरिपरिको मानव बस्ती तल सर्न थाल्यो। त्यसबेला गाईपालन गर्ने समुदाय पनि हुनु स्वाभाविक हो र कालान्तरमा यसै समुदायले शासनव्यवस्था हातमा लियो। सुरुमा यस भूक्षेत्रमा संस्कृत भाषाको प्रवेश नै भइसकेको थिएन। सापू भनिने उक्त समुदायलाई धेरै पछि मात्रै गोपाल भनेर संस्कृत भाषामा अनुवाद गरिएको हो। सापूकै नाममा उक्त समुदाय अहिले नेवारभित्र अस्तित्वमा छ।
‘नेपाल’ र ‘नेवार’ दुवै शब्दको उत्पत्ति एउटै शब्द ‘नेपा’ बाट भएको हो। ‘नेपार’ र ‘नेवार’ मा पनि भेद छैन। ‘नेपार’ शब्दलाई नै पछि ‘नेपाल’ भनियो। ‘प’ र ‘व’ तथा ‘र’ र ‘ल’ मा भेद नभएबाट यस्तो भन्न सकिएको हो। इतिहासको लामो कालखण्डमा विभिन्न समयमा विभिन्न ठाउँबाट बसाइँ सरेर आएकाहरूबाट मूल सभ्यताको विकास र विस्तार हुँदै गयो। यसलाई समाजशास्त्रीय भाषामा ‘एसिमिलियसन’ भनिन्छ। यस प्रक्रियाबाट बनेको लामो इतिहासको नेपालको निर्माणमा पछिल्लो व्यक्तिविशेषको नाम जोड्नु इतिहासप्रतिको अनभिज्ञता हो।
नेपालको भूमि विस्तारकै कुरा गर्दा ऐतिहासिक रूपमा के पुष्टि हुन्छ भने, लिच्छवि राजा मानदेवले विरासतका रूपमा पाएको भूक्षेत्र पनि वर्तमान काठमाडौँ उपत्यकामा मात्रै सीमित थिएन। चाँगुनारायण मन्दिर परिसरमा रहेको उनको एउटा अभिलेखले यसको जानकारी गराउँछ। उक्त अभिलेखअनुसार पूर्वमा रहेको किरात प्रदेश नेपालका लिच्छवि राजाहरूको मातहत थियो र सामन्तहरूद्वारा शासित हुन्थ्यो। यही स्थिति पश्चिममा पनि थियो। तर, कति टाढासम्म अधिकार गरिएको भन्ने कुरा खुल्दैन। सातौँ शताब्दीका दुई अभिलेख गोरखामा पाइएका छन्, तर यी अभिलेखले गोरखा सामन्तद्वारा शासित नभएर केन्द्रद्वारा नै शासित भनेर देखाउँछन्। स्वतन्त्र लमजुङ राज्य स्थापना हुनुअघि यो क्षेत्र नेपालको विजयराज्य थियो। मध्यकालीन नेपालका राजा यक्ष मल्लको अभिलेखले दक्षिणमा सीतामढी गढसम्म पुगेको देखाउँछ। राज्य सीमा खुम्चने र फैलिने क्रममा व्यापक रूपमा उतारचढाव आए पनि आआफ्नो समयमा यसको विकासमा सबैले योगदान गरेको मान्नुपर्छ। त्यसै क्रममा गोरखा राज्यका राजा पृथ्वीनारायण पनि एक योगदानकर्ता रहेको मान्न सकिन्छ।
नेपालको निर्माण राजा पृथ्वीनारायण शाहले गरेका हुन् र यो देशको शासन उनकै सन्तानबाट हुनुपर्छ भन्ने आशयले पछिल्लो समय राजतन्त्र फर्काउने अभियान पनि चल्दै आएको छ। राजा नभए देशै रहन्न भन्ने डर साह्रै भावुक र कमजोर मानसिकताको उपज हो।
वर्तमानमा नेपालको भूक्षेत्र पूर्वमा मेची र पश्चिममा महाकाली नदीले समेटिएको तथा हिमालदेखि तराईसम्मको हो। यो भूक्षेत्र पृथ्वीनारायण शाहले आर्जेका हुन् त? होइन। उनले आर्जेको भूक्षेत्र त गोरखादेखि पूर्व ६ वटा राज्य मात्रै हुन्। अझ स्पष्ट शब्दमा भन्दा पृथ्वीनारायणले कान्तिपुर, भक्तपुर र ललितपुर गरी तीन राज्यमा विभाजित नेपालमा अधिकार जमाएर यसको राजा भई आफ्नो पुर्ख्यौली राज्य गोरखालाई पनि त्यही नेपालमा गाभिदिए। यसका साथै, मकवानपुर, विजयपुर र चौदण्डीमा पनि अधिकार जमाई ती भूभागलाई पनि नेपालमै गाभे। लमजुङ, कास्की, पर्वत आदि राज्यमा आक्रमण गरी आफ्नो राज्यमा विलय गर्ने काम पृथ्वीनारायणबाट नभएर उनका उत्तराधिकारीहरूबाट सम्पन्न भएको हो। उनका उत्तराधिकारीहरू राज्य विस्तारका क्रममा वर्तमान भारतको कुमाउँ गढवालसम्मै पुगेका थिए, तर ब्रिटिस भारतसँग सुगौली सन्धिका क्रममा एक तिहाइ भूभाग गुमाएर फर्कनुपरेको थियो। राणा प्रधानमन्त्री जंगबहादुरले तत्कालीन ब्रिटिस राजलाई रिझाएर गुमेको भूभागमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याएका थिए।
देश भनेको फगत भूमि होइन। एउटा देश बन्नमा धेरै कुराले भूमिका निर्वाह गर्छ। त्यसमा मुख्यतया जनताकै भूमिका हुन्छ। जनता जनार्दनविना कुनै सीमा र सरहदको आफ्नै अस्तित्व र पहिचान रहँदैन। पृथ्वीनारायणले तिनै जनतालाई शासन गरे। राज्य विस्तारमा तिनकै साथ-सहयोग लिए। यसर्थ देश निर्माणमा सबैको भूमिका र योगदान हुन्छ भन्ने भाष्य बन्नुपर्छ।
नेपालको निर्माण राजा पृथ्वीनारायण शाहले गरेका हुन् र यो देशको शासन उनकै सन्तानबाट हुनुपर्छ भन्ने आशयले पछिल्लो समय राजतन्त्र फर्काउने अभियान पनि चल्दै आएको छ। राजा नभए देशै रहन्न भन्ने डर साह्रै भावुक र कमजोर मानसिकताको उपज हो। समाज विकासको प्रक्रिया हेर्दा राजतन्त्रमा आधारित शासनव्यवस्था पछिल्लो चरण हो। राजतन्त्रात्मक शासनव्यवस्था उदाउँदा पनि गणतान्त्रिक शासनव्यवस्था जल्दोबल्दो नै थियो। विश्वमा अहिले राजतन्त्र रहेका मुलुक तीन दर्जन पनि छैनन् र तिनमा पनि राजाको भूमिका विगतमा जस्तो नभएर मानार्थ मात्रै छ। विश्वका समृद्ध र शक्तिशाली देशहरूमा राजा नभएर जनताद्वारा नै विभिन्न शासन प्रणाली सञ्चालन भइरहेको छ। नेपालमा राजावादीहरूको सक्रियता देखिए पनि यसमा राजतन्त्रप्रतिको मोहभन्दा पनि पछिल्ला दशकहरूमा शासन सञ्चालनको तौरतरिका र सत्तामा रहेकाहरूको शैलीका कारण देखिएको असन्तुष्टि कारक देखिन्छ। यसैले विगतमा शाह राजाले बनाएको देश भएकाले यसको शासन तिनकै सन्तानले हाँक्नुपर्छ भन्ने तर्क पनि यथार्थमा आधारित छैन।