काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

२८ पुष २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले समुदायमा रहेका कुकुरहरूको व्यवस्थापनका लागि २८ वटा वडामा सञ्चालन गरेको बन्ध्याकरण तथा खोप कार्यक्रममा अहिलेसम्म ५‚०४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ।

गत १४ कात्तिकदेखि सुरु भएको यस कार्यक्रममा वडा ६ मा सबैभन्दा धेरै ६२१ र सबैभन्दा कम वडा २१ मा आठवटा कुकुरको बन्ध्याकरण गरिएको हो। महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले वडा १८, २२, २५ र २७ गरी चार वटामा कार्यक्रम सञ्चालन प्रक्रियामा रहेको जनाएको छ।

संख्याका आधारमा धेरैबाट क्रमशः घट्दो क्रममा रहेको वडाहरूमा १६ मा ५६४, वडा १५ मा ४५६, वडा ३१ मा ४१९, वडा ७ मा ४०७, वडा ३२ मा ३८५, वडा १४ मा २५८ वटा कुकुरको बन्ध्याकरण गरिएको विभागका प्रमुख नूरनिधि न्यौपानेले जानकारी दिए। यस्तै वडा १० मा २३६, वडा ३ मा २१५‚ वडा २६ मा १८७, वडा ४ मा १६०‚ वडा ५ मा १३८, वडा ८ मा ११४, वडा १ मा ११३, वडा १२ मा ११३ वटा कुकुरको बन्ध्याकरण गरिएको छ।

यस्तै वडा १३ मा १०१, वडा ९ मा ९८, वडा ११ मा ७४, वडा २० मा ६१, वडा २८ मा ५७, वडा २९ मा ५६, वडा १७ मा ५५, वडा १९ मा ४१, वडा २ मा ३२, वडा २३ मा ३२, वडा २४ मा ३१ र वडा ३० मा १२ वटा कुकुरको बन्ध्याकरण भएको छ। महानगरले काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर), क्याट क्लिनिक, मण्डला भेटिरिनरी अस्पताल, स्नेहाज केयर र पशुपन्छीप्रति निर्दयता रोकावट समाज (एसपीसीए) नेपाल गरी पाँचवटा संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको हो।

बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने क्रममा पशु कल्याणको पूर्ण पालना गरिएको, कुकुरलाई नियन्त्रणमा लिने, बन्ध्याकरण गर्ने, चौबीस घण्टा निगरानीमा राख्ने र स्वस्थ्य भएपछि पुनः पुरानै स्थानमा छाड्ने गरिएको विभागका प्रमुख न्यौपानेको भनाइ छ। यस प्रक्रियामा पशुहरूलाई कुनै पनि प्रकारको पीडा महसुस नहोस् भन्ने कुरालाई ध्यान दिने गरिएको उनको भनाइ छ।

यो कार्यक्रमबाट सहरमा भएका सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण गर्न र रेबिज जस्ता रोगको जोखिम घटाउन मद्दत पुग्ने महानगरपालिकाले अपेक्षा गरेको नतिजा हो।