काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

कांग्रेसको राजनीति

२८ पुष २०८२
२८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा शेरबहादुर देउवा। तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँ। विशेष महाधिवेशन आह्वान गरेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्ने भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग वार्ताका लागि गगन-विश्वले चार सदस्यीय वार्ता टोली गठन गरेका छन्।

सोमबार राति गगन-विश्वले सभापति तथा उपसभापतिसँग वार्ता गर्न नेता प्रदीप पौडेल‚ गुरुराज घिमिरे‚ देवराज चालिसे र मधु आचार्यलाई कार्यादेश दिएका छन्। “भोलि बिहान ७ बजेदेखि वार्ता सुरु हुन्छ‚” केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपालन्युजलाई भने‚ “वार्ता भए पनि नभए पनि विशेष महाधिवेशनको प्रक्रिया भने जारी रहन्छ।”

शिवाकोटीका अनुसार कार्यवाहक सभापति खड्काले पार्टी एकताका लागि अनुरोध गरी वक्तव्य जारी गरेपछिको अवस्थामा वार्ता टोली गठन गरिएको हो। “नीति र नेतृत्व परिवर्तनको सन्दर्भमा दुवै महामन्त्री रतिभर विचलित हुनुभएको छैन‚” शिवाकोटीले भने‚ “विशेष महाधिवेशनको अपनत्व ग्रहण गर्न जुनसुकै नेता आउनुहोस्‚ आयोजक पक्ष तयार रहेको छ।”

दुवै महामन्त्री थापा र शर्मा वार्ता टोलीको सम्पर्क तथा संवादमा रहने शिवाकोटीले बताए। टोलीले संवाद गर्नुअघि देउवा-खड्कासँग महामन्त्रीद्वय संवादमा नजाने भएका छन्।

उता देउवाले विशेष महाधिवेशन आह्वान गरेका महामन्त्रीद्वयका चार प्रतिनिधिसँग संवाद गर्न कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकलाई जिम्मा दिएका छन्।

उनका अनुसार कसको नेतृत्व स्वीकार गर्ने हो संस्थापन पक्ष तयार भए त्यहीअनुसार बन्दसत्र अघि बढ्नेछ। विशेष महाधिवेशन पक्षले बिहान ९ बजेबाट बन्दसत्र प्रारम्भ गर्ने तयारी गरेको छ।

“वार्ता टोलीले विशेष महाधिवेशनको अपनत्व न र सांगठनिक रूपमा नेतृत्व लिन संस्थापन पक्षलाई आह्वान गर्छ‚” शिवाकोटीले भने‚ “वार्ता सकारात्मक ढंगले अघि बढे पनि नबढे पनि विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ।” वार्तामा सहमति भए दुवै पक्ष एकीकृत भएर जान सक्ने उनले बताए। २७ पुसदेखि महामन्त्रीद्वयको आह्वानमा भृकुटीमण्डपमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन जारी छ।

विशेष महाधिवेशनको दोस्रो दिन २८ पुसमा कार्यविधि पारित भएको छ। कार्यविधिमा वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वलाई बिदा गरी नयाँ कार्यसमिति चयन गर्ने उल्लेख छ। “हलले कार्यविधि पारित गरेको अवस्थामा नेतृत्व लचक भएर वार्ता गर्न तयार भएपछि विशेष महाधिवेशन आयोजकको तर्फबाट वार्ता टोली गठन गरिएको छ‚” शिवाकोटीले भने।

कांग्रेसले मंगलबारै केन्द्रीय कार्यसमितिको बैठक बिहान ११ बजे सानेपास्थित मुख्यालयमा बोलाएको छ। विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित भएपछि सभापति देउवा, कार्यवाहक सभापति खड्कासहित संस्थापन पक्षका नेताहरू छलफलमा छन्।

वरिष्ठ नेता शेखर कोइरालाले समेत देउवासँग सोमबार छलफल गरेका थिए। उनले विशेष महाधिवेशनबाट पार्टी विभाजन हुन सक्ने भन्दै त्यसलाई रोक्न अनुरोध गरेका थिए। केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार पार्टीमा उत्पन्न संकटबारे सचेत गराउँदै देउवालाई विशेष पहल थाल्न अनुरोध गरिएको थियो।

कांग्रेसका ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित २९ असोजमा महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाउन नेतृत्वलाई दबाब दिएका थिए। तर, नेतृत्वले २८ पुसमा नियमित महाधिवेशन आह्वान गर्‍यो। उक्त महाधिवेशन गर्न सम्भव नरहेको भन्दै नेतृत्वले २७ वैशाख २०८३ मा नियमित महाधिवेशन बोलाएको थियो। यसपछि २१ फागुनको प्रतिनिधिसभाअघि नै नेतृत्व परिवर्तन गरेर जानुपर्ने स्पष्ट सन्देश दिँदै महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन बोलाएका थिए।

विशेष महाधिवेशनको दोस्रो दिन सोमबार दुई महामन्त्रीले प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनउपरको समूहगत छलफल जारी छ।