काठमाडौँ। सिन्धुली तीनपाटन गाउँपालिका ३ की ५३ वर्षीया टंकमाया बुढाथोकीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय शान्तिबहादुर बुढाथोकी र २९ वर्षीय चुक्तबहादुर कटुवाल छन्। पक्राउ परेका दुवै जनालाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार बुढाथोकी ९ पुसदेखि बेपत्ता भएकी थिइन्।
उनी सुत्ने खाटमा रगत तथा दिसा भेटिएको थियो। घरबाटै बेपत्ता भएकी उनको शव एक किलोमिटर उत्तर बाँसको झ्याङमा फेला परेको थियो। प्रहरीले बेपत्ता भएको १२ दिनपछि २१ पुसमा बुढाथोकीको शव पात-पत्करले छोपेको अवस्थामा फेला पारेको थियो।
शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले दुई जनालाई पक्राउ गरेको र उनीहरूले घटना स्वीकार गरेको प्रहरी उपरीक्षक सुवेदीले बताए। सुवेदीका अनुसार पक्राउ परेका लागुऔषध सेवनकर्ता हुन्।
“उनीहरूले घाँटी थिचेर बुढाथोकीको हत्या गरेको पाइएको छ,” सुवेदीले भने, “हत्या गर्नुको कारण कारण लागुऔषध सेवनपछि उत्पन्न आपराधिक मानसिकता रहेको देखिन्छ।”
पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको छ। पक्राउ परेकामध्ये शान्तिबहादुर २०७३ सालमा चोरी कसुरमा एक वर्ष कैद सजाय भुक्तान गरी सिन्धुली कारागारबाट छुटेका थिए।