काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ सदस्यको दुर्घटना बिमा गराएको छ। नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बिमा’ गराएको हो।
नाफिजले २४ पुस २०८१ मा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्ससँगको सहकार्यमा आफ्ना २३५ सदस्यको सामूहिक दुर्घटना बिमा गराएको थियो। यो वर्ष उक्त बिमालेख नवीकरण गर्दै २७४ जनाको बिमा गरिएको हो। यसमा गत भदौमा थप भएका नाफिजका नयाँ सदस्य पनि समावेश छन्। बिमालेख ३० पुसबाट लागु हुनेछ।
यसमा कुल बिमांक रकम १९ करोड १८ लाख रुपैयाँ छ। बिमालेखअनुसार प्रतिव्यक्ति सात लाख रुपैयाँका दरले दुर्घटना बिमा भएको छ।
नाफिज अध्यक्ष मेनुका कार्कीले नाफिजले रिपोर्टिङ गर्न खट्ने आफ्ना सदस्यलाई सुरक्षा प्रदान गर्न दुर्घटना बिमालाई निरन्तरता दिएको बताइन्। “हामीले गत वर्ष पनि सदस्यहरूको बिमा गरेका थियौं। त्यसमा दुर्घटनामा परेर घाइते भएका दुईजना सदस्यले दाबी भुक्तानी लिनुभएको थियो‚” उनले भनिन्।
बिमामा समेटिएका बिमित सदस्यहरू कुनै कारणवश घाइते भए बिमाले औषधी उपचार खर्च बेहोर्नेछ। यस्तै दुर्घटनाका कारणबाट भएको मृत्यु, पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्च, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता र अस्थायी पूर्ण अशक्ततालाई पनि बिमालेखले रक्षावरण गर्नेछ।