काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

२९ पुष २०८२
अ+
अ-

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ।

गण्डकी प्रदेश सरकार र जर्मनको ‘हिमालय फ्रेन्ड्स इभी’ संस्थाको सहयोगमा भुवानी युवा परिवारले खेलमैदान निर्माण गरेका हुन्।

हिमालय संस्थाले यस वर्ष रु १० लाख ५२ हजार २५० आर्थिक सहयोग गरेको खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले गत वर्ष रु पाँच लाख र क्लबले रु एक लाख खर्च गरेका थिए।

उपभोगविहीन बाँझो सार्वजनिक भिरालो पाखामा डोजर परिचालन गरेर सम्याएर ११० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान तयार भएको निर्माण समितिका अध्यक्ष श्याम खड्काले बताए।

फुटबल, बास्केटबल, क्रिकेट, एथलेटिक्स खेल सञ्चालन गर्न सकिने खेलमैदानमा पर्खाल, प्यारापिट र घेराबारका लागि वडा, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको निर्माण समितिले जनाएको छ।

यसअघि खेलमैदान अभावमा विद्यालय परिसरमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन हुने गरेको थियो। विद्यालयमा हुने खेलकुद गतिविधिका कारण बालबालिकाको पठनपाठन प्रभावित भएपछि छुट्टै ठाउँमा खेलमैदान निर्माण गरिएको निर्माण समितिका सचिव जितबहादुर बरुवालले बताए।