मधेस
जलेश्वरपारिको भिठ्ठामोड क्षेत्रमा भारतले गरिरहेको पूर्वाधार विकासबाट सिर्जित अवसरको लाभ बटुल्ने हो भने नेपाली पक्षले पर्याप्त तयारी गर्नुपर्छ।
तीन दशकअघिसम्म भारतीयहरू दैनिक उपभोग्य वस्तु, कपडा, विद्युतीय सरसामान आदि किन्न बिहारको भिठ्ठामोड क्षेत्रबाट जलेश्वर र जनकपुरधामसम्म आउँथे। कोभिड-१९ को महाव्याधि अगाडिसम्म पनि सुनचाँदीका गहना किन्न आउने भारतीयहरू धेरै थिए। तर, पछिल्ला वर्षहरूमा अवस्था पूरै उल्टिएको छ।
केही दशकअघि केही नास्ता पसल मात्र रहेको भिठ्ठामोड अहिले ठूलो बजारमा रूपान्तरण भइसकेको छ। जलेश्वर र आसपास क्षेत्रका नेपालीहरू हरेकजसो किनमेलका लागि सीमावर्ती यही बजारमा ओइरिन्छन्। पसलहरू भरिभराउ रहेको यस बजारमा खरिदकर्ताको चाप थेगिनसक्नु हुन्छ, र अधिकांश खरिदकर्ता नेपाली नै हुन्छन्।
भिठ्ठामोडमा एकीकृत जाँच चौकीका लागि भारतको बिहार राज्य सरकारले जग्गा अधिग्रहण गर्न थालेपछि बजार झनै विस्तार भएको छ। ल्यान्ड पोर्टस् अथोरिटी अफ इन्डियाको वेबसाइटमा उपलब्ध जानकारीअनुसार एकीकृत जाँच चौकीका लागि २६.४२ एकड जग्गा पहिचान गरिएको छ। भिठ्ठामोड नाका ‘बौद्ध सर्किट’ को पनि नजिक भएकोलगायत विशेषताका कारण यहाँ एकीकृत जाँच चौकी प्रस्तावित रहेको भारतीय पक्षको तर्क छ।
यस्तै, जयनगरबाट भिठ्ठामोड, सुरसन्ड, सीतामढीको पुपरीसम्म रेलमार्ग बनाउने काम सुरु भइसकेको छ। भिठ्ठामोड–सीतामढी सडकले सीताको जन्मस्थल मानिने जनकपुरधाममा रहेको २०० वर्ष पुरानो जानकी मन्दिरलाई जोड्छ। यस ठाउँलाई सुक्खा बन्दरगाहका रूपमा समेत प्रयोग गर्न सकिन्छ।
बिहार राज्यको सीतामढीस्थित पुनौराधामलाई सीताको उत्पत्तिस्थल भनेर प्रचारप्रसार थालिएको छ। त्यस ठाउँमा मन्दिर, कुण्डलगायत पूर्वाधार बनाएर धार्मिक स्थलका रूपमा विकास गर्ने काम भइरहेको छ। अयोध्याधाममा भव्य राम मन्दिर बनाएजसरी नै पुनौराधाममा धार्मिक पूर्वाधार विकासका लागि ८८२ करोड ८७ लाख भारतीय रुपैयाँ विनियोजन भइसकेको छ। यस परियोजनाअन्तर्गत सीता मन्दिर, तीर्थयात्री करिडोर, सीता तथा लवकुश वाटिका, परिक्रमा मार्ग, भोजनालयजस्ता पर्यटकीय पूर्वाधार निर्माण कार्य भइरहेका छन्। यी सबै काम सन् २०२८ सम्म सम्पन्न गर्ने लक्ष्य छ।
जलेश्वरले तत्कालीन लिच्छवि, मल्लकाल, शाहकालमा काठमाडौँलाई अहिलको भारतीय बजारसँग सहजै जोडेको थियो। भारतीय पक्षले भिठ्ठामोडलाई चीनसँग सहज स्थलमार्गका रूपमा विकास गरिरहेको छ। भिठ्ठामोडबाट सुरसन्ड हुँदै पुपरी जाने पुरानो बाटो थियो, यसको सट्टा नयाँ सडक निर्माण गरेको छ।
भारतले भिठ्ठामोडलाई उत्तर बिहारको मुख्य केन्द्र बनाउन खोजेको छ। यसका साथै सम्पूर्ण भारतलाई स्थल र रेलमार्गमार्फत जोड्न लागेको सहजै अनुमान गर्न सकिन्छ।
जयनगरदेखि भिठ्ठामोड, सुरसन्डसम्म रेल चल्न थालेपछि मधेस प्रदेशको राजधानी जनकपुरधामबाट जयनगरसम्म चल्ने रेल प्रभावित हुने चिन्ता बढेको छ। यसको समाधान खोज्न आवश्यक छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा भिठ्ठामोड–जलेश्वर–जनकपुर रेल सेवा विस्तारको सम्भाव्यता अध्ययन गर्ने लेखिएको थियो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले यस कामका लागि बजेट विनियोजन भइसकेको बताएका थिए। अर्थ मन्त्रालयले यसमा कति काम गर्यो भन्ने अत्तोपत्तो छैन।
अर्कातर्फ, जयनगर–पुपरी–रक्सौलसम्म चल्ने भारतीय रेल तथा जयनगर–जनकपुर–वीरगन्जमा चल्ने रेलबीचको प्रतिस्पर्धा भविष्यमा देखिनेछ। मधेस प्रदेशको मुख्य सीमानाका हो, वीरगन्ज–रक्सौल। उक्त नाकामा एकीकृत जाँच चौकी, सुक्खा बन्दरगाह, अध्यागमन कार्यालयलगायत सुविधा दुवै देशमा छ। यस्तै किसिमको संरचना निर्माण भारतीय पक्षले भिठ्ठामोडमा गरिरहँदा यता जलेश्वरमा भने नेपाली पक्ष जग्गा अधिग्रहणमै अल्झिएको छ। अध्यागमन कार्यालय खोल्ने विषयबारे हालसम्म कुनै चर्चा छैन।

भिठ्ठामोडमा एकीकृत जाँच चौकीका लागि भारतको बिहार राज्य सरकारले अधिग्रहण गरेको जग्गा
जलेश्वर र जनकपुरधामका व्यापारीहरूले जलेश्वरमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी बनाउन निरन्तर दबाब दिँदै आएका छन्। भारतको पश्चिम बंगालको हलदिया बन्दरगाह हुँदै वीरगन्ज सुक्खा बन्दरगाहबाट सामान आयात गर्दा समयसँगै खर्च बढी हुने भएकाले उनीहरूले यस्तो माग गरिरहेका हुन्। व्यापारीहरूका अनुसार हलदिया हुँदै वीरगन्ज र काठमाडौँसम्म मालसामान ढुवानी गर्दा एक हजार ११९ किमी दूरी पार गर्नुपर्छ। अर्कातर्फ, हलदिया बन्दरगाहबाट जलेश्वर भन्सार कार्यालयबाट सिन्धुली हुँदै काठमाडौँसम्मको दूरी ८८१ किलोमिटर छ। यसकारण जलेश्वर नाकालाई प्राथमिकतामा राख्नुपर्ने माग व्यापारीहरूको छ।
आर्थिक वर्ष २०७९/८० को बजेटमा जलेश्वरमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गर्ने विषय समेटिएको थियो। सन् २०२७ सम्म सुक्खा बन्दरगाहको काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। तर, परियोजना अघि बढ्न सकेको छैन। उसो त सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन यसअघि नै भइसकेर पनि काम अगाडि बढेको थिएन।
विकासको लाभ कसरी छोप्ने?
भारतले भिठ्ठामोडलाई उत्तर बिहारको मुख्य केन्द्र बनाउन खोजेको छ। यसका साथै सम्पूर्ण भारतलाई स्थल र रेलमार्गमार्फत जोड्न लागेको सहजै अनुमान गर्न सकिन्छ। नेपाली पक्षले जलेश्वरलाई केन्द्र मानेर भिठ्ठामोडमा आउने अवसरको लाभ लिन सबैभन्दा पहिले हुलाकी राजमार्ग व्यवस्थित गर्नुपर्छ। यस राजमार्गबाट सप्तरीको राजविराजदेखि पर्साको वीरगन्जसम्म सहज रूपमा आवागमन गर्न सकिने अवस्था छैन। कमला र बागमती नदीमा पुल छैन। यी आधारभूत पक्षमै ध्यान नदिएको राज्यलाई हुलाकी राजमार्ग केन्द्रित प्राचीन शिवालय, देवी मन्दिर र गढहरूको विस्तृत अध्ययन गरेर पर्यटकीय कोरिडोर निर्माण गर्ने सल्लाह दिनु व्यर्थ देखिन्छ।
हाम्रा मठमन्दिरका व्यवस्थापक र राजनीतिकर्मीहरू भिठ्ठामोडमा रेलमार्ग बनेपछि, पुनौराधाममा भव्य सीता मन्दिर बनेपछि पर्यटक घट्ने चिन्तामा छन्। तर, पर्यटक टिकाउन र थप आकर्षण बढाउन गर्नैपर्ने काममा कहिले हात बढाउने?
सीतामढीको पुनौराधाम इस्वी संवत् २०२८ पछि अयोध्याधामजस्तै भव्य धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित हुँदै छ। भारत सरकारले पुनौराधामलाई सीता जन्मस्थलका रूपमा विकास गरेर पर्यटकलाई सहजै तान्नेछ। जनकपुरधामले त्यहाँ पुग्ने पर्यटकलाई जानकी र राममन्दिर आउनू भन्दा नआउन पनि सक्छन्। तर, जनकको भव्य दरबार बनाउन सकिए पर्यटक भित्र्याउन सकिन्छ। यसबाहेक सप्तरीको छिन्नमस्ता भगवती, कंकालिनी मन्दिर, राजदेवी, हनुमाननगर मन्दिर, सिरहाको सलहेस फूलबारी, महोत्तरीको जलेश्वर महादेव, सर्लाहीको मूर्तियालगायत क्षेत्र, रौतहटको मौलापुर, बाराको सिम्रौनगढ, पर्साको गहवामाई, पारसनाथ महादेवलगायत दर्जनौँ ठाउँलाई हुलाकी राजमार्ग केन्द्रित गरी प्रचारप्रसार गर्न सकिन्छ।
ल्यान्ड पोर्टस् अथोरिटी अफ इन्डियाको वेबसाइटमा भिठ्ठामोडलाई बुद्ध सर्किट रुटको नजिक भनिएको छ। यसले बिहारको बोधगया, राजगीरलगायत बुद्ध सर्किटको कुरा गरेको हुन सक्छ। किनभने, सीतामढी जिल्लामा ठूला बौद्ध बिहार छैनन्। मधेस प्रदेशमा वीरगन्ज नजिकै भिस्वामा बौद्ध धर्मसँग सम्बन्धित ठाउँबारे अध्ययन भइरहेको छ। त्यस्तै, महोत्तरी मनराशिसवा, एकडारा क्षेत्रमा बुद्धका प्रथम शिष्य भन्ते आनन्द बौद्ध शिष्यसहित बसेको भनिए पनि यस्ता स्थलहरूबारे अध्ययन भएको छैन। यीबाहेक मधेस प्रदेशका अन्य ठाउँमा बौद्ध धर्मसँग सम्बन्धित प्राचीन संरचनाको खोजी हुन सकेको छैन। त्यस्तै, जलेश्वर भन्सार कार्यालय रहेको मलिवारालाई जैन धर्मावलम्बीले १९औँ तीर्थंकर मल्लिनाथसँग जोडेर हेर्ने गर्छन्। केही महिनाअघि यस धर्मसँग सम्बन्धित व्यक्तिहरूले तीर्थंकर मल्लिनाथको मन्दिर निर्माण गर्न जग्गा खोजे पनि नपाएपछि फर्केका थिए। हाल जैन धर्मसँग सम्बिन्धत एउटा मन्दिर नेपाल-भारत सिमानानजिकै सुरसन्डमा निर्माण गरिएको छ।
केही वर्षअघिसम्म सीतामढीको पुनौराधामबाट स्थानीय व्यवस्थापकले दिनहुँ श्रद्धालुहरूलाई गाडीमा राखेर जलेश्वर महादेव, जानकी मन्दिर र धनुषाधामको यात्रा गराउँथे। अहिले यो दृश्य पातलिन थालेको छ। पुनौराधामसँगै सीतामढीकै हलेश्वर महादेव, पन्थपाखरलगायत ठाउँ जोडेर धार्मिक करिडोर निर्माण हुन लागेको छ। जनकपुरधामलाई रामायण सर्किटमा राखिएजस्तै राम-सीताको विवाहपछि जनकपुरबाट अयोध्या फर्किने बाटोलाई भारतीय पक्षले राम-सीता सर्किटका रूपमा विकास गर्ने तयारी थालेको छ। विवाहपछि अयोध्या प्रस्थान गर्ने क्रममा राम र सीताले जलेश्वर महादेव मन्दिर, वाल्मीकेश्वर महादेव मन्दिर हुँदै पन्थपाखरमा विश्राम गरेका थिए।
पारि यस्तो विकास योजनामा काम भइरहँदा हाम्रोतिर शून्य छ। नीति, योजना र विकास तथा हामीसँग भएका सम्पदाको संवर्द्धन-प्रवर्द्धनमा कस्सिएर लाग्नुपर्नेमा हाइसन्चोको अवस्थामा बसिरहेका छौँ। हाम्रा मठमन्दिरका व्यवस्थापक र राजनीतिकर्मीहरू भिठ्ठामोडमा रेलमार्ग बनेपछि, पुनौराधाममा भव्य सीता मन्दिर बनेपछि पर्यटक घट्ने चिन्तामा छन्। तर, पर्यटक टिकाउन र थप आकर्षण बढाउन गर्नैपर्ने काममा कहिले हात बढाउने?