अपाङ्गताका क्षेत्रमा काम गर्ने संघसंस्थाबाट प्रस्ताव आउने क्रम जारी छ : महानगर
काठमाडौँ। लक्षितवर्गको कार्यक्रम सहयोगअन्तर्गत महानगरपालिकाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ संघसंस्थाले आवेदन दिएका छन्।
विभागले विभिन्न मितिमा आह्वान गरेको सार्वजनिक सूचनाबाट ३० प्रतिशत लागत सहभागिता जनाउने गरी ती संघसंस्थाले प्रस्ताव पेस गरेका हुन्। २२ पुसमा अपाङ्गताका क्षेत्रमा काम गर्ने संघसंस्थाको प्रस्ताव आह्वान गरिएको थियो। १५ दिन अवधि भएकाले यस क्षेत्रमा काम गर्नेहरूबाट आवेदन आउन बाँकी नै छ।
विभागले ११ मंसिरमा सार्वजनिक सूचना प्रकाशन गर्दै, ज्येष्ठ नागरिकका लागि काम गर्ने संघ-संस्थासँग प्रस्ताव माग गरेको थियो। नौवटा संघसंस्थाको प्रस्ताव पेस भएको यस क्षेत्रको सहयोगका लागि २० लाख रुपैयाँ विनियोजित बजेट छ। १५ गते अटिजमसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि कार्य गर्ने संघसंस्थाका लागि सूचना प्रकाशन गरिएको थियो।
डाउन सिन्ड्रोम‚ सेरेब्रल पाल्सी‚ मस्कुलर डिस्ट्रोफी र मस्तिष्क पक्षाघात भएका बालबालिका लक्षित कार्यक्रम गर्ने संघसंस्थासँग प्रस्ताव माग
यस क्षेत्रमा सहयोग गर्न २० लाख रुपैयाँ छ। सहयोग प्राप्त गर्न ६ संघसंस्थाको प्रस्ताव परेको छ। २० लाख रुपैयाँ लैंङ्गिक तथा यौनिक अल्सड्ख्यक (एलजीबीटीक्यूआई) का लागि सहयोग रकम विनियोजन भएको क्षेत्रका लागि १७ गते सार्वजनिक सूचना प्रकाशन भएको थियो। यस क्षेत्रमा काम गर्न आठवटा संघसंस्थाको प्रस्ताव परेको छ।
१ पुस मा डाउन सिन्ड्रोम‚ सेरेब्रल पाल्सी‚ मस्कुलर डिस्ट्रोफी र मस्तिष्क पक्षाघात भएका बालबालिका लक्षित कार्यक्रम गर्ने संघसंस्थासँग प्रस्ताव माग गरिएको थियो। ३० लाख रुपैयाँ बजेट विनियोजन भएको यस क्षेत्रमा काम गर्न १० वटा संघसंस्थाको प्रस्ताव पेस भएको छ।
विभागका प्रमुख समीक्षा निरौलाका अनुसार ३० प्रतिशत लागत सहभागिता संस्था आफैँले बेहोर्ने गरी प्रस्ताव पेस भएको हो। यसमा कम सहयोग प्रस्ताव गर्नेले तीन लाख ५० हजार रुपैयाँ र धेरै सहयोग प्रस्ताव पेस गर्नेले ८१ लाख रुपैयाँसम्मको आवेदन परेको छ। प्रस्ताव पेस गर्नेहरूबाट गरिने प्रस्तुतीकरणमा विगतमा गरेका काम र प्राप्त नतिजा‚ संस्थाको क्षमता‚ कामको प्रकृति‚ आवश्यकतालगायत सूचकका आधारमा अङ्क प्रदान गरेर सहयोग रकम प्रदानसम्बन्धी निर्णय प्रक्रिया अगाडि बढाइने निरौलाको भनाइ छ।