काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

एक क्विन्टल सखर तयार पार्न सात क्विन्टल उखु खपत

३० पुष २०८२
तस्बिरहरू : श्रीधर पौडेल/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

सर्लाही। माघे संक्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानलाई यतिबेला सखर (गुड) बनाउने भ्याइनभ्याइ छ। चाडपर्वको मुखमा नगदको आवश्यकता टार्न किसानहरू सरकारी दररेट र चिनी मिलको आकर्षक मूल्य छोडेर स्थानीय ‘क्रसर’ उद्योगलाई उखु बेच्न थालेका छन्।

हाल चिनी मिलहरूले उखुको मूल्य प्रतिक्विन्टल ६७५ रुपैयाँसम्म दिने गरेका छन्। तर, स्थानीय सखर उद्योग (क्रसर) ले भने प्रतिक्विन्टल ६०० रुपैयाँ मात्र दिन्छन्। क्विन्टलमै ७५ रुपैयाँको घाटा खाएर पनि किसानहरू स्थानीय उद्योगमै आकर्षित हुनुको मुख्य कारण हो ‘भुक्तानीको समय’।

चिनी मिललाई उखु बेच्दा भुक्तानी पाउन ७ देखि ८ महिना कुर्नुपर्ने बाध्यता छ। उता, स्थानीय सखर उद्योगले भने १५ देखि २० दिनभित्रै नगद भुक्तानी दिने गरेका छन्। “मिललाई उधारो दिएर महिनौँ कुर्नुभन्दा, अलि सस्तोमै भए पनि १५ दिनमा पैसा आउँदा घरखर्च र चाडपर्व टार्न सजिलो हुन्छ,” एक स्थानीय किसानले बताए।

स्थानीय स्तरमा सञ्चालित यी सखर उद्योगहरूले ग्रामीण अर्थतन्त्रमा टेवा पुर्‍याएका छन्। एक क्विन्टल सखर तयार पार्न करिब सात क्विन्टल उखु खपत हुने किसानहरू बताउँछन्। यी साना उद्योगहरूले स्थानीय स्तरमै रोजगारी समेत सिर्जना गरेका छन्। जसले गर्दा युवाहरूले गाउँमै काम पाएका छन्।

जाडोमा तराईमा चल्ने शीतलहरले सखर उत्पादनमा पनि चुनौती थपेको छ। सखर पकाउन सामान्यत: उखु पेलेर निस्कने ‘छोकरा’ (बगास) सुकाएर इन्धनका रूपमा प्रयोग गरिन्छ। जसले दाउराको खर्च बचाउँछ। तर, घाम नलाग्दा र शीतलहर चल्दा छोक्रा नसुक्ने समस्या हुन्छ। यस्तो अवस्थामा किसानले महँगो मूल्यमा दाउरा किनेर सखर पकाउनु परिरहेको छ।

माघे संक्रान्तिमा सखरको माग उच्च हुने हुँदा जतिसुकै दुःख भए पनि किसानहरू उपभोक्ताको माग पूरा गर्न र आफ्नो गर्जो टार्न दिनरात खटिएका छन्। हेर्नुहोस् थप तस्बिर :