काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

१ माघ २०८२
अ+
अ-

काठमाडौँ। जेनिफर रानाको दुई गोलसँगै नेपालले महिला फुटसलमा ऐतिहासिक जित हात पारेको छ।

थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा बिहीबार भएको साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ५-० ले हराएको हो। नेपालले महिला फुटसलमा हात पारेको यो नै पहिलो जित हो। जितसँगै नेपालले २ खेलबाट ४ अंक पुर्याएको छ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग २-२ गोलको बराबरी खेलेको थियो। माल्दिभ्सको भने यो लगातार दोस्रो हार हो।

यसअघि भारतसँग ११-१ ले पराजित भएको थियो। नेपाललाई जित दिलाउन जेनिफरबाहेक विमला चौधरी र मनीषा थापामगरले समान एक गोल गरे। एक गोल भने उपहार पाएको थियो।

खेलको चौथो मिनेटमै जेनिफरले नेपाललाई सुरुआती अग्रता दिलाइन्। ११औँ मिनेटमा विमलाले गोल गर्दा एक मिनेटपछि नै जेनिफरले अर्को थपिन्।

१८औँ मिनेटमा मनीषाले पेनाल्टीमा गोल गर्दै नेपाललाई पहिलो हाफमै ४-० को अग्रता दिलाइन्। ३९औँ मिनेटमा फातिमाथ सिनाले आत्मघाती गोल गर्दा नेपालले ५-० को सहज जित हात पार्‍यो।