काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

काठमाडौँ। अभिक शाहले निहाना श्रेष्ठलाई पराजित गर्दै आइतबार अन्तिम चरणको खेल बाँकी छँदै हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको उपाधि पक्का गरेका छन्।

स्विस लिग प्रणालीअनुसार नौ चरणमा सञ्चालित प्रतियोगितामा शीर्ष वरीयताका अभिकले लगातार आठ खेल जितेर हिमालयन च्यालेन्जर्स क्लासिकल चेसको उपाधि जित्ने पक्का गरेका हुन्। ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको प्रतियोगितामा १९१८ रेटेड उनी अन्तिम चरणको खेलअघि शतप्रतिशत जित हात पार्ने एक्लो खेलाडी पनि हुन्।

अभिकले निहानालाई पराजित गर्नुअघि सौर्यप्रताप सिंह कार्की‚ आशीर्वाद थापा‚ शुभांग प्रधान‚ सजल न्यौपाने‚ सात्विकमान तुलाधर‚ लियोन महर्जन र उजिभानी कँडेललाई पराजित गर्दै पूर्ण अंक बटुलेका थिए। उनले नवौँ चरणमा हार्दिक पन्तविरुद्ध सोमबार प्रतिस्पर्धा गर्दा शतप्रतिशत जितलाई कायम राख्ने प्रयास गर्नेछन्।

हिमालयन चेस एकेडेमीको काठमाडौं महानगरपालिका ११ स्थित थापाथलीको चेस हल सञ्चालन भइरहेको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक जितमा ३ अंक र बराबरीमा १ अंक दिइने नियम छ। त्यस आधारमा अभिकले आठ जितसँगै अधिकतम २४ अंक बनाएका छन्। हार्दिक पन्त पाँच जित‚ दुई बराबरी र एक हारको नतिजा निकाल्दै १७ अंकसहित दोस्रोमा छन्। उनी आठौं चरणमा सजलको चुनौती पन्छाउँदै दोस्रो स्थानमा उक्लिएका हुन्।

१६९७ रेटेड सजल र सात्विकमान तुलाधरले समान पाँच जित‚ एक बराबरी र दुई हारसँगै १६ अंक जोडेका छन्। अन्तिम चरणमा यी दुई आपसमा भिड्दै छन्। आठौँ चरणमा सजलले हार्दिकविरुद्ध हार बेहोरे भने सात्विकले शुभांग प्रधानलाई पराजित गरे। निहाना‚ प्रवीर केसी‚ आशीर्वाद‚ लियोन र अजि राईले समान १५ अंक बनाएका छन्। विमश लोहनी १४ अंकसहित शीर्ष दशमा छन्।

अरिज‚ सात्विकमान‚ लियोन र निहाना श्रेष्ठ समान तीन जित र दुई हारको नतिजासँगै १२ अंकमा छन्। विमर्श लोहनी‚ हार्दिक पन्त र प्रवीर केसीले समान तीन जित, दुई बराबरी र एक हारको नतिजासँगै ११ अंक जोडेका छन्। आठौं दिन आइतबार अभिक‚ हार्दिक र सात्विकसँगै अरिज‚ लियोन‚ विमश‚ रोहित श्रेष्ठ‚ ओजस्वी श्रेष्ठ‚ अग्रता आचार्य‚ अभियान राई‚ ईश्वर लामा‚ रेयांश खनाल र रियांशु पौडेलले पनि जित हासिल गरे। प्रवीरविरुद्ध आशिर्वाद र वियांका गौतमविरुद्ध सूर्यप्रतापको खेल बराबरीमा टुंगिए।

२८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० खेलाडी सहभागी हिमालयन च्यालेन्जर्स क्लासिक चेस ५ माघसम्म सञ्चालन हुनेछ। जसमा फिडे रेटेड १५ खेलाडी छन् भने अनरेटेडको संख्या पनि १५ छ।