सुनसरी। धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ) ले पदबाट राजीनामा दिएका छन्। उनले आजैदेखि लागु हुनेगरी उपप्रमुख अइन्द्रविक्रम बेघासमक्ष राजीनामा पेस गरेका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उपमहानगर प्रमुख साम्पाङले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र १ बाट उम्मेदवारी दिने तयारी गरेकाले राजीनामा दिएको बताए।
उनले भने‚ “म जहाँ जाँदै छु‚ त्यो पनि धरानकै विकासका लागि हो। नीति-निर्माण तहमा देखिएका अवरोध हटाउँदै धरानको समग्र विकासका मुद्दा उठाउने मेरो उद्देश्य हो।”
यो पनि…
साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए। उनले यहाँ कार्यरत रहँदा श्रमदान अभियान‚ सुशासन प्रवर्द्धन तथा खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताए।
साम्पाङको राजीनामापछि उपप्रमुख अइन्द्रविक्रम बेघाले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका छन्। स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगर प्रमुखको पद रिक्त भएमा उपप्रमुखले कार्यवाहकका रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था छ।