काठमाडौँ। नेपाली कांग्रेसको गगनकुमार थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।
कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ आगामी मंगलबार हुने सर्वोच्च प्रशासनले जनाएको छ।
निर्वाचन आयोगको निर्णय बदर, यही ६ माघको निर्वाचनका निम्ति उम्मेदवार मनोनयन स्थगन र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो।
के छ निवेदनमा?
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको निरुपण नगरी पदाधिकारीको विवरण अध्यावधिक गरी पाउँ भन्ने कथित् निवेदनका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ आकर्षित गर्नै नहुने कानुनी व्यवस्थाको प्रयोग गरी, नेपाली कांग्रेस पार्टीका दुवै पक्ष राखी छलफल नगराई, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३,४४,४५ र ४६ अनुसार गर्नुपर्नेमा सो नगरी एक पक्षलाई सुनवाइको मौकासमेत नदिई माग २ गते को यस आयोगको निर्णयले नेपाली कांग्रेसजस्तो पुरानो लोकतान्त्रिक पार्टीलाई दलिय रूपमा निर्वाचनमा जान वञ्चित गरेको देखिन आयो, तसर्थ यस आयोगको उक्त मितिको निर्णयउपर नेपाली कांग्रेस पार्टी निर्वाचन आयोगको निर्णय गैरसंवैधानिक, गैरकानुनी, प्रचलित ऐन कानुन र यसै आयोगले यसभन्दा अगाडि गरेका निर्णय र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र सिद्धान्त समेत विपरित छ।
त्यसउपर आज आइतबार सम्मानित सर्वोच्च अदालतमा उत्प्रेष्ण परमादेशसमेत रिट निवेदन दर्ता गरी आगामी माघ ६ गतेको पेसीसमेत तोकी पाएको हुँदा उक्त मुद्दाका सम्बन्धमा न्याय निरुपण नभएसम्म आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मनोनयनलगायतका सम्पूर्ण निर्वाचन कार्यतालिका स्थगन गरी पाउँ भनी निवेदन लिई उपस्थित भएको छु।