उद्यम
एउटै वडाबाट वर्षमा साढे पाँच करोडको बाख्रा बिक्री
विराटनगर। मोरङको मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित उत्तरे डाँडाको सडक गत १ माघमा खसीबाख्राको हुलले पूरै ढाकेको थियो। त्यो हुलको पछाडि थिए, ४७ वर्षीय रुमन राई। घरभन्दा तीन किलोमिटर परको बतासे डाँडामा दिनभर खसीबाख्रा चराएर उनी फर्किरहेका थिए। ६ वर्षयता उनको यो दैनन्दिनको काम हो।
“सुरुमा चार वटा माउ बाख्राबाट सुरु गरेको थिएँ,” रुमन सुनाउँछन्, “अहिले ४० वटा पुगेका छन्। २५ वटा त खसीबोका मात्रै छन्, बाँकी माउ हुन्।”
बाख्रापालनबाटै रुमनले गरेको प्रगति पनि लोभलाग्दो छ। उनी गाउँमै ३६ लाख रुपैयाँ खर्चेर दुईतले पक्की घर बनाउँदै छन्। “एउटा तला पूरा भयो, अर्को उठाउँदै छु,” नयाँ घर देखाउँदै उनी भन्छन्, “अहिलेसम्म ३० लाख खर्च भइसक्यो। अब नयाँ घरमा सर्ने र पुरानो घरलाई कृषि उपज भण्डारणमा प्रयोग गर्ने सोच छ।”

रुमन राईले बनाएको दुईतले पक्की घर। तस्बिर : अनिल श्रेष्ठ
रुमनले वार्षिक चारदेखि पाँच लाख रुपैयाँ बराबरको खसी र बोका मात्रै बेच्ने गरेका छन्। एउटै खसी ४० हजार रुपैयाँसम्म बेचेको अनुभव उनीसँग छ। यस काममा श्रीमती यामकुमारीले काँधमा काँध मिलाएकी छन्। दुई छोरीको पढाइ खर्च पनि यसैबाट उठाएका छन्।
आफ्नै मिहिनेतमा विश्वास गर्ने रुमनले अहिलेसम्म सरकारबाट कुनै अनुदान लिएका छैनन्। “आफ्नै पौरखले चार जनाको परिवार पालेको छु, झन्झटतिर लाग्नै मन छैन,” उनी भन्छन्।
रमिते गाउँकै वीरेन्द्र लिम्बूको खोरमा पनि ४० वटा खसीबाख्रा छन्। वैदेशिक रोजगारीका लागि मलेसिया गएका उनी त्यहाँ १४ घण्टासम्म पसिना बगाउँदा पनि सोचेजस्तो कमाइ नभएपछि घर फर्किएका थिए। “विदेशमा गर्ने मिहिनेत यहाँ गरे मनग्य आम्दानी हुने रहेछ,” वीरेन्द्र भन्छन्।
उनले २० रोपनी जमिनमा अम्लिसो, अलैँची, अदुवा र अकबरे खुर्सानी खेती पनि गरेका छन्। श्रीमती रमना र भाइ मेषको साथमा उनले वार्षिक सात लाख रुपैयाँसम्मको आम्दानी गरिरहेका छन्।
वीरेन्द्रकै छिमेकी हस्तकला राईले पनि बाख्रापालनबाटै वार्षिक चार लाख रुपैयाँ घर भित्र्याउने गरेकी छन्। उनको खोरमा पनि ४० वटै बाख्रा छन्।
मिक्लाजुङ-१, सलिङका ६१ वर्षीय अमृतबहादुर श्रेष्ठ चाहिँ वडाकै ठूला बाख्रापालक कृषक हुन्। उनको ‘हर्षलक्ष्मी कृषि फार्म’ मा अहिले १५० वटा बाख्रा छन्। २०७४ सालमा २० वटा लोकल बाख्राबाट सुरु गरेका उनले पालिका र प्रदेश सरकारको तालिमपछि उन्नत जातका बाख्रा पाल्न थालेका हुन्। “अहिले वार्षिक नौ लाख रुपैयाँसम्मको खसीबोका बिक्री हुन्छ,” श्रेष्ठ भन्छन्, “एउटै बोका ५० हजारसम्ममा जान्छ।”

चरेर गोठतिर फर्किइरहेका खसीबाख्रा। तस्बिर : अनिल श्रेष्ठ
बाख्रापालनकै कमाइबाट उनले मिक्लाजुङको केन्द्र मधुमल्ला बजारमा ७० लाख रुपैयाँ खर्चेर १५ धुर जग्गा किनेका छन्। कान्छा छोरा विकासलाई स्नातक तहसम्म पढाउने खर्च पनि बाख्राबाटै जुटेको हो। खोर सुधारका लागि उनले प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदानसमेत पाएका छन्। बाख्रासँगै उनले ३० घार मौरी पनि पालेका छन्।
वार्षिक साढे पाँच करोडको कारोबार
मिक्लाजुङ गाउँपालिका-१ का कुल ७१४ मध्ये ६५० घरधुरीको मुख्य पेसा नै बाख्रापालन हो। वडाध्यक्ष पर्वत राईका अनुसार यस वडाबाट मात्रै वार्षिक सरदर साढे पाँच करोड रुपैयाँको खसीबोकाको बिक्री हुने गरेको छ। “बजार क्षेत्रका केही घरबाहेक सबैले बाख्रा पालेका छन्,” वडाध्यक्ष राई भन्छन्, “एक घरबाट न्यूनतम पाँचदेखि अधिकतम ३० वटासम्म खसीबोका वार्षिक बिक्री हुन्छ। वर्षमा करिब ३२ सयदेखि चार हजारसम्म खसीबोका यहाँबाट बाहिरिन्छन्।”
यहाँका कृषकलाई बजारको पनि कुनै चिन्ता छैन। ‘खरिदे’ (व्यापारी)हरू हप्ता हप्तामा घरदैलोमै आइपुग्छन्। पहाडी भेगका खसीबोकाले जडीबुटी र प्राकृतिक चरन पाउने भएकाले यहाँको मासु स्वादिष्ट हुने विश्वास गरिन्छ। त्यसैले पनि मधुमल्ला र झापाको दमकस्थित पशुहाटमा यहाँका बाख्राको उच्च माग छ।
बाख्रापालनमा स्थानीयको आकर्षण बढेपछि गाउँपालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याएको छ। गाउँपालिकाका अध्यक्ष बबीकुमार राईका अनुसार चालु आर्थिक वर्षमा कृषिका लागि ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। “हामी कृषकहरूलाई उन्नत जातको बाख्रापालनतर्फ आकर्षित गर्न तालिम, उपकरण र गोठ सुधारका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ,” अध्यक्ष राई भन्छन्।
मोरङ, इलाम, पाँचथर र धनकुटा जिल्लाको संगमस्थल मानिने मिक्लाजुङ–१ बाख्रापालन मात्र नभएर प्राकृतिक सौन्दर्य र अनुपम दृश्यावलोकनका लागि पनि प्रख्यात छ। समुद्री सतहबाट करिब १५०० मिटरको उचाइमा रहेको रमिते डाँडाको मौसम चर्चित पर्यटकीय क्षेत्र भेडेटारसँग मिल्दोजुल्दो पनि छ।
मोरङको उर्लाबारी-२ स्थित मंगलबारे बजारभन्दा केही पूर्वमा पर्ने किसान चोकबाट उत्तरतर्फ करिब १६ किलोमिटरको यात्रापछि रमिते डाँडा पुग्न सकिन्छ। यस्तै, मदन भण्डारी राजमार्ग हुँदै लेटाङ–जाँते खण्डबाट केही पूर्व आएर उत्तरतर्फ उक्लिँदा करिब एक घण्टाको यात्रामा रमिते पुगिन्छ।