निर्वाचन
आइतबार ५ बजे जनकपुर ओर्लेका बालेन बिहानैदेखि अर्थपूर्ण गतिविधिमा व्यस्त
जनकपुरधाम। आइतबार साँझ करिब ५ बजे कालो रंगको टोपी र कोटमा मधेस प्रदेशको राजधानी जनकपुरधाम अवतरण भएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सोमबार बिहान एकाएक फरक पहिरनमा देखापरे। आफ्नो सिग्नेचर अटायर छोड्दै बालेनले पहिरिए- सेतो कुर्ता पाइजामा र कालो जुहारी कोट।
आइतबार राति अबेरसम्म रास्वपाका स्थानीय नेता तथा जेन-जी अभियन्ताहरूसँग छलफल गरेका बालेन आज बिहान सबेरै करिब ५ बजे नै जानकी मन्दिर पुगेका थिए। जबकि मन्दिरको मूल ढोका नै ६ बजे खुल्छ।
विघटित प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंह र भर्खरै खेलकुदमन्त्रीबाट राजीनामा दिएका बब्लु गुप्तासँग जानकी मन्दिर पुगेका बालेनले त्यहाँ पूजापाठ गरे र आरतीमा पनि सहभागी भए।

जानकी मन्दिरमा पूजापाठ गरिरहेका बालेन
मन्दिरबाट बालेनको टोली सोझै सिरहाको लहान पुग्यो। त्यहाँ उनले मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरे। आजकै दिन २०६३ सालमा लहानमा प्रहरीको गोली लागेर महतोको मृत्यु भएको थियो। यस दिनलाई मधेस आन्दोलनको सुरुआत भन्दै मधेसकेन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा समेत मनाउँदै आएका छन्।
बालेनले मधेस अभियानका लागि ५ माघलाई नै रोज्नुको मुख्य कारण यही हो। बलिदानी दिवसकै दिन सभा राखेर उनले आफू मधेस समर्थक भएको भाष्य बनाउन खोजेको देखिन्छ। काठमाडौँ महानगरपालिकामा कबाड व्यवसायीलक्षित बालेनको अभियानका कारण मधेसकेन्द्रित दलका नेताहरूले उनलाई मधेसविरोधी भएको आरोप लगाउँदै आएका थिए।
लहानबाट बालेन धनुषाको मिथिला नगरपालिका-८ जमुनीवासमा रहेको मामाघर पुगेका थिए। त्यहाँ उनले ७५ वर्षीय मामा कारीराम पुर्वेलाई खुट्टामा ढोग्दै आशीर्वाद लिएका थिए। मामा पुर्वेले उनलाई अंकमाल गरेका थिए।
त्यहाँबाट उनी सोझै जनकपुर फर्किए। जनकपुरको रजौलमा रहेको सहिद गेटमा समेत मधेस आन्दोलनका सहिदहरूका प्रतिमामा माल्यार्पण गरे।
बालेनको बिहानैदेखिको कार्यक्रममा बढीजसो युवापुस्ताको उपस्थिति देखिन्थ्यो।
आज दिउँसो जनकपुरको तिरहुतिया गाछीमा ‘परिवर्तनको लागि उदघोष’ नाम दिइएको सभामा बालेन उपस्थित हुँदै छन्। सभास्थल वरपर रास्वपा सभापति रवि लामिछाने र बालेनको पोस्टर टाँसिएको छ। सभाको सुरुआत शंखनादबाट गरिने कार्यक्रम रहेको छ।
कार्यक्रममा लामिछाने, बालेनसहित रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहितका नेताहरू उपस्थित हुने पार्टीका नेता अम्भुप्रसाद साहले जानकारी दिए।
सभालाई लिएर नगर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। सभास्थलमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ। सभालाई करिब १२ जना नेताले सम्बोधन गर्नेछन्।