काठमाडौं। अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन्। उनले अन्तिम तथा नवौँ चरणमा हार्दिक पन्तलाई पराजित गर्दै सोमबार ट्रफी चुमेका हुन्।
कुल एक लाख ३५ हजार रुपैयाँ पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको थियो। लगातार नौ दिनको रोमाञ्चक प्रतिस्पर्धापछि सजल न्यौपाने (१९ अंक) उपविजेता भए भने आशीर्वाद थापा (१८ अंक) तेस्रो स्थानमा रहे।
हिमालयन च्यालेन्जर्समा शीर्ष वरीयताका अभिकले भने‚ “ब्लिज र र्यापिड चेस चलेको यो बेला क्लासिकल चेसको प्रतियोगिता खेल्न पाउनु नै ठुलो कुरा हो। मैले पहिलोपल्ट लगातार नौ दिन खेल्न पाएँ। सबै खेल जिते पनि प्रतिस्पर्धा रोचक रह्यो। म र अरू युवा खेलाडीको स्तरवृद्धिका लागि क्लासिकल चेस महत्त्वपूर्ण छ र हिमालयन च्यालेन्जर्सबाट हामीलाई धेरै नयाँ र आवश्यक कुरा सिक्ने अवसर मिलेको छ।” १७ वर्षीय उनी हिमालयन चेस एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता एसईई कपको विजेता पनि हुन्।
समापन समारोहमा हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू‚ प्रमुख अथिति पूर्वसचिव जीवनप्रभा लामा‚ राष्ट्रिय खेलकुद परिषद्का सदस्य कुमार लामा घिसिङ‚ कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्रकुमार राई‚ काठमाडौं जिल्ला चेस संघका अध्यक्ष केशव श्रेष्ठ‚ साहसिक खेल विज्ञ राजीव चन्द‚ नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निर्देशक टीकानिधि लोहनी‚ ललिता राई लामालगायत पुरस्कार‚ ट्रफी‚ मेडल तथा प्रमाणपत्र प्रदान गरे।
सजल र सात्विकको प्रतिस्पर्धा
प्रत्येक जितमा तीन र बराबरीमा एक अंक दिने नियमानुसार सजलले ६ जित‚ १ बराबरी र २ हारको नतिजासँगै १९ अंक जोडे। उनले अन्तिम खेलमा सात्विकमानलाई पराजित गर्दै दोस्रो स्थान सुरक्षित गरेका थिए। उक्त खेलमा जित हात पार्नसकेको भए सात्विक दोस्रो स्थानमा उक्लिने थियो।
आशीर्वादले अन्तिम खेलमा लियोन महर्जनलाई हराउँदै तेस्रो स्थान हात पारेका हुन्। उनले ५ जित, ३ बराबरी र १ हारको नतिजा निकाल्दै १८ अंक जोडेका हुन्। मातृभूमि स्कुलका प्रवीर केसीले पनि १८ अंक बटुले। तर, उनलाई टाइब्रेकर (बुगोल्स) मा उछिन्दै आशीर्वाद शीर्ष तीनमा रहेका हुन्। उनले अन्तिम खेलमा निहानालाई पराजित गरे।
निहाना महिलामा प्रथम
महिलातर्फ निहाना श्रेष्ठ (१५ अंक) पहिलो भइन्। समान १५ अंक जोडेपनि टाइब्रेकरको आधारमा उजिभानी कँडेल दोस्रो र ओजस्वी श्रेष्ठ तेस्रोमा रहे। यू-८ तर्फ विराज सरिया (३ अंक)‚ यू १० मा शुभांग प्रधान (१५ अंक)‚ यू १२ मा हार्दिक पन्त (१७ अंक)‚ यू १४ मा प्रवीर केसी (१८ अंक) र यू १६ मा विमश लोहनी (१७ अंक) प्रथम भए। अरिज राई (५ जित र ४ हारसहित १५ अंक) ले इमर्जिङ प्लेवरको अवार्ड प्राप्त गरे।
कुल २८ स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० खेलाडी सहभागी हिमालयन च्यालेन्जर्स क्लासिक चेसमा फिडे रेटेड १५ खेलाडीसँगै अनरेटेड १५ जना सहभागी थिए। दुर्लभ हुँदै गएको क्लासिकल चेस प्रतियोगिता युवा खेलाडीको स्तरवृद्धिका लागि आयोजना गरिएको र यो भव्य रूपमा सम्पन्न भएको हिमालयन चेस एकेडेमी संस्थापक मोनालिशा खम्बूले बताइन्। प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरेका थिए।